भेटेरिनरी अस्पताल सप्तरीका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराज, सप्तरीको भवन निर्माण ठेक्का प्रक्रियामा अनियमितता गरी राज्यलाई १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा हानिनोक्सानी पुर्याएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले अस्पतालका तत्कालीन प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, बोलपत्र मूल्याङ्कन समितिका सदस्य अशोक कुमार सिंह र प्रेम कुमार सिंह तथा राधा कृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्या कुमारी रजकलाई प्रतिवादी बनाउँदै आरोपपत्र दायर गरेको जनाएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ‘कन्स्ट्रक्सन वर्क अफ भेटेरिनरी अफिस बिल्डिङ सप्तरी’ शीर्षकको भवन निर्माण कार्यका लागि ४ करोड ४९ लाख ९८ हजार २७२ रुपैयाँ ३० पैसाको लागत अनुमान स्वीकृत गरिएको थियो। ठेक्काका लागि २०७९ माघ २१ गते ‘सौर्य दैनिक’ मा सूचना प्रकाशित गरिएको दाबी गरिए पनि अनुसन्धानका क्रममा वास्तविक रूपमा कुनै सूचना प्रकाशन नभएको र नक्कली पत्रिकाको प्रति तयार गरी बोलपत्र आह्वान गरिएको पाइएको आयोगले जनाएको छ।
अनुसन्धानबाट राधा कृष्ण निर्माण सेवा, राजविराज र श्री राम निर्माण सेवा, रौतहटले बोलपत्र पेस गरेको देखिएको छ। तर बोलपत्र मूल्याङ्कन समितिले गैरकानुनी रूपमा श्री राम निर्माण सेवालाई प्राविधिक मूल्याङ्कनमै अयोग्य ठहर गर्दै राधा कृष्ण निर्माण सेवाको प्रस्ताव स्वीकृत गरेको आयोगको आरोप छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधिको रोहवरमा पछि खोलिएको श्री राम निर्माण सेवाको आर्थिक प्रस्ताव मूल्य अभिवृद्धि करसहित २ करोड ८९ लाख ६४ हजार २४१ रुपैयाँ ३१ पैसा रहेको पाइएको थियो। तर राधा कृष्ण निर्माण सेवासँग ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँ २ पैसामा ठेक्का सम्झौता गरिएको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कम रकम कबोल गर्ने कम्पनीको आर्थिक प्रस्ताव नै नखोली बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा राज्यलाई १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा प्रत्यक्ष हानिनोक्सानी पुगेको छ।
आयोगले बोलपत्र मूल्याङ्कन समितिका संयोजक डा. झा तथा सदस्यद्वय अशोक कुमार सिंह र प्रेम कुमार सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा १९(२) बमोजिम कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ।
त्यस्तै, राधा कृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्या कुमारी रजकलाई मतियारको रूपमा प्रस्तुत गर्दै मुख्य कसुरदारसरह सजाय तथा बिगो असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ।


