‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
काठमाडौँ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न तथा अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ ।
पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लाका ७२ फार्ममा रहेका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिनुभयो। सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा प्रभावित देखिएका छन्।
सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो।
दाहालका अनुसार केही साताअघि झापा, मोरङ र सुनसरी जिल्लामा देखिएको बर्डफ्लु महोत्तरी, बारा र चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर तथा पछिल्लो समय नवलपरासी जिल्लासम्म फैलिएको छ। “यसको उपचार नै छैन। एकमात्र उपाय रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलिन नदिनु हो। त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्,” उहाँले भन्नुभयो।
पछिल्लो समय काठमाडौँ उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको छ। चितवन र मुलुकका अन्य भागमा भने करिब–करिब रोग नियन्त्रणमा आइसकेको दाहालले जानकारी दिनुभयो।
थप सङ्क्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रका सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः सञ्चालन गर्न पाउने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो।
किसानलाई राहत
बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्लाअनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो।
