दुग्धजन्य पदार्थ बिक्रीबाट डीडीसी धनगढीले छ करोड सङ्कलन
कैलाली : धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु छ करोड राजस्व सङ्कलन गरेको छ ।
सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायतका उत्पादन स्थानीय बजारमा बिक्री गरेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले राससलाई जानकारी दिनुभयो । आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ ।
हाल दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन गर्दै आएको आयोजनाले कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीस्थित गुलरा तथा टीकापुरको वसन्तामा आफ्नै सङ्कलन केन्द्र सञ्चालन गरेको छ ।
प्रतिक्रिया
