मन्त्रालयको नामबाटै ‘पशुपालन’ गायब, सरोकारवालाको आपत्ति

काठमाडौं । सरकारले मन्त्रालय पुनर्संरचना गर्दै ‘कृषि, वन तथा पर्यावरण मन्त्रालय’ गठन गरेपछि पशुपालन क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरूले असन्तुष्टि जनाएका छन्। मन्त्रालयको नामकरणमा पशुपालन तथा पशुसेवा क्षेत्रलाई पूर्ण रूपमा उपेक्षा गरिएको भन्दै विभिन्न सरोकारवालाले आपत्ति र दुःखेसो पोखेका हुन्।

सरकारले कृषि, वन र वातावरण क्षेत्रलाई एउटै मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरे पनि देशको अर्थतन्त्र, पोषण र रोजगारीमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पशुपालन क्षेत्रको नाम नै हटाइएको भन्दै आलोचना भइरहेको छ। पशुपालन व्यवसायी, पशु चिकित्सक तथा कृषिसम्बद्ध व्यक्तिहरूले कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको दुग्ध, मासु र अण्डा उत्पादन क्षेत्रलाई मन्त्रालयको नाममै समेटिनुपर्ने बताएका छन्।

विशेषगरी नेपाललाई कुखुराको मासु, अण्डा र दूध उत्पादनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको पशुपन्छी क्षेत्रको नाम नयाँ मन्त्रालय संरचनाबाट गायब हुनु दुःखद भएको उनीहरूको भनाइ छ। पशुपालन क्षेत्रले लाखौँलाई प्रत्यक्ष रोजगारी दिएको, ग्रामीण अर्थतन्त्र चलायमान बनाएको तथा कृषिको प्रमुख आधारका रूपमा स्थापित भएको अवस्थामा नामकरणमै बेवास्ता गरिएको भन्दै सरोकारवालाले पुनर्विचारको माग गरेका छन्।

पशु स्वास्थ्य तथा पशुपन्छी व्यवसायसँग आबद्ध व्यक्तिहरूले मन्त्रालयको नाम ‘कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय’ वा पशुपालन क्षेत्र झल्किने कुनै संरचनामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार कृषि क्षेत्रको ठूलो हिस्सा ओगटेको पशुपालनलाई नामबाटै हटाउँदा नीति निर्माण र प्राथमिकतामा समेत असर पर्ने चिन्ता बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *