विश्व पशु चिकित्सक दिवस २०२६: संरक्षकको नारा व्यवहारमा लागू गर्न सरोकारवालाको आग्रह

काठमाडौं।नेपाल भेटेरिनरी एसोसिएशनको आयोजनामा विश्व पशु चिकित्सक दिवस २०२६ को अवसर पारेर राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत पशु स्वास्थ्य, औषधि दुरुपयोग, खाद्य सुरक्षा र ‘एक स्वास्थ्य’ (One Health) अवधारणाको कार्यान्वयनमा कमजोरी रहेको सरोकारवालाहरूले औंल्याएका छन्।

‘पशुचिकित्सकहरू: खाद्य र स्वास्थ्यका संरक्षक’ भन्ने मूल नारासहित सम्पन्न छलफल कार्यक्रममा नियमन अभाव, कमजोर कार्यान्वयन र समन्वयको कमीका कारण उपभोक्ता सुरक्षा समेत जोखिममा परेको निष्कर्ष निकालिएको हो।

कार्यक्रमको औपचारिक जानकारी नेपाल भेटेरिनरी एसोसिएशनका उपाध्यक्ष डा. राजेन्द्र प्रसाद यादवले दिँदै सहभागीहरूलाई स्वागत गरेका थिए।

नेपाल भेटेरिनरी एसोसिएशनका अध्यक्ष डा. केदार सुबेदीले दिवसको नाराले पशु चिकित्सकलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उक्त जिम्मेवारी व्यवहारमा देखिनुपर्नेमा जोड दिए। उनले पशु उपचारसँगै खाद्य सुरक्षा र जनस्वास्थ्यमा समेत पशु चिकित्सकको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे।

प्राध्यापक डा. होमबहादुर बस्नेतले ‘संरक्षक’को रूपमा चिनिनु गर्वको विषय भए पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको टिप्पणी गरे। उनले प्रतिबद्धता व्यवहारमा उतार्न र जनचेतना तल्लो तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले ‘एक स्वास्थ्य’ अवधारणालाई विभागले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए। उनका अनुसार देशभर १५० स्थानमा आधारभूत सेवा सहितका पशु अस्पताल सञ्चालनमा रहेका छन् भने ‘एक पालिका एक पशु चिकित्सक’ कार्यक्रमअन्तर्गत १६५ जना चिकित्सक परिचालन गरिएको छ। उनले पशु स्वास्थ्य सूचना प्रणाली, पीपीआर उन्मूलन अभियान, निःशुल्क खोप तथा बीमा कार्यक्रम विस्तार भइरहेको जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव भिमप्रसाद सापकोटाले मानव स्वास्थ्यसँग सम्बन्धित करिब ६० प्रतिशत र उदीयमान रोगका ७० प्रतिशत स्रोत पशुसँग जोडिएको तथ्य प्रस्तुत गर्दै ‘एक स्वास्थ्य’ अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य अपरिहार्य रहेको बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका ईश्वर सुबेदीले उत्पादनदेखि उपभोक्तासम्म गुणस्तर कायम राख्ने जिम्मेवारी सबै सरोकारवालाको भएको बताए। उनले मूल्य शृंखलामा मध्यस्थकर्ताको अत्यधिक उपस्थितिका कारण लागत बढेको र समग्र प्रणाली सुधार आवश्यक रहेको उल्लेख गरे।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले कमजोर नियमनका कारण उपभोक्ता सबैभन्दा बढी प्रभावित भएको बताए। उनले एन्टिबायोटिक्स, हर्मोन तथा विषादीको दुरुपयोग, दानाको गुणस्तर समस्या र अव्यवस्थित वधशालाका कारण स्वास्थ्य जोखिम बढेको उल्लेख गरे। साथै संयुक्त अनुगमन टोली गठन र कडा नियमनको आवश्यकता औंल्याए।

पोल्ट्री व्यवसायी माधव रेग्मीले औषधिको दुरुपयोग, प्रयोगशालाको अभाव, प्राविधिक सेवाको कमी र किसानको बाध्यतापूर्ण औषधि प्रयोगबारे गम्भीर समस्या रहेको बताए। उनले बीमा, सहुलियत कर्जा, गुणस्तरीय दाना र उचित मूल्य सुनिश्चित गर्नुपर्ने माग गरे।

डा. श्रीराम अधिकारीले संघीय संरचनापछि पशु स्वास्थ्य क्षेत्रमा ‘चेन अफ कमान्ड’ कमजोर भएको भन्दै समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका सहभागीहरूले पशु स्वास्थ्य, खाद्य सुरक्षा र उपभोक्ता संरक्षण सुनिश्चित गर्न कडा नियमन, प्रभावकारी कार्यान्वयन, संस्थागत समन्वय र तल्लो तहसम्म जनचेतना विस्तार अपरिहार्य रहेको निष्कर्ष निकाले।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *