पशु उपचारमा प्रयोग हुने तीन औषधि प्रतिबन्धमा

काठमाडौं । पशु–पक्षीको उपचारमा प्रयोग हुँदै आएका Nimesulide, Aceclofenac र Ketoprofen युक्त औषधिहरूको उत्पादन, आयात तथा वितरणमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले एक अत्यावश्यक सूचना जारी गर्दै जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय सन्तुलनमा पर्न सक्ने गम्भीर नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको हो।

विभागका अनुसार औषधि सल्लाहकार समितिको ५८औँ बैठकले ती औषधिहरूको प्रयोग रोक्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा विभागले निर्णय गर्दै उक्त औषधिहरूको उत्पादन, आयात तथा ओसारपसारमा पूर्ण रूपमा रोक लगाएको हो।

यद्यपि बजार व्यवस्थापनलाई ध्यानमा राख्दै हाल बजारमा मौज्दात रहेका औषधिहरूको हकमा भने सूचना प्रकाशित भएको मितिले बढीमा ६ महिनासम्म मात्र बिक्री–वितरण गर्न पाइने व्यवस्था गरिएको छ। सो अवधिपछि बाँकी रहेका औषधिहरू सम्बन्धित उत्पादक वा आयातकर्तालाई फिर्ता गर्नुपर्ने विभागले स्पष्ट पारेको छ।

औषधि व्यवस्था विभागले सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *