किसान बाँचे मात्रै पशु स्वास्थ्यकर्मीको पेशा सुरक्षित रहन्छ: सरोकारवाला
चितवन । किसानको अवस्था सुदृढ नभएसम्म पशु स्वास्थ्यकर्मीहरूको पेशागत भविष्य पनि सुरक्षित नहुने सरोकारवालाहरूले औँल्याएका छन्। दूध, अण्डा र मासु उत्पादनमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्न किसान र प्राविधिकबीच बलियो सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ छ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन (नेभ्ला) चितवनद्वारा नयाँ वर्ष २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा वक्ताहरूले पशु स्वास्थ्य सेवाको प्रभावकारिता किसानमैत्री अभ्यासमा निर्भर रहने धारणा व्यक्त गरे।
कार्यक्रममा नेभ्लाका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले बदलिँदो समयअनुसार पशु स्वास्थ्यकर्मीहरूले आधुनिक प्रविधि र सीपमा अभ्यस्त हुनुपर्नेमा जोड दिनुभयो। किसानसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै प्राविधिकहरूलाई समयसापेक्ष तालिम र अभिमुखीकरण आवश्यक रहेको उहाँले बताउनुभयो। स्थानीय तहले समेत किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव थियो।
नेभ्ला चितवनका अध्यक्ष प्रकाश ढकालले महामारी तथा संक्रामक रोगका कारण किसानले व्यहोर्दै आएको क्षतिप्रति चिन्ता व्यक्त गर्नुभयो। पशु स्वास्थ्यकर्मीहरू प्रविधिमैत्री र सेवामुखी बन्नुपर्ने उल्लेख गर्दै उहाँले उत्पादन वृद्धि र रोग नियन्त्रणलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
भरतपुर महानगरपालिकाका पशु शाखा प्रमुख शैलेन्द्र भण्डारीले किसानको समृद्धिले नै पशु स्वास्थ्य सेवा क्षेत्रको दिगोपना सुनिश्चित गर्ने बताउनुभयो। उहाँका अनुसार व्यक्तिगत लाभभन्दा सेवा र किसानको हितलाई प्राथमिकतामा राख्नु अहिलेको आवश्यकता हो।
चितवनमा हाल करिब ४०० पशु स्वास्थ्यकर्मी कार्यरत रहेको र तीमध्ये करिब २०० जना नेभ्लामा आबद्ध रहेको जानकारी दिइएको छ।
