भेटकन २०२६ सुरु, समयमै पुगे मुख्यमन्त्री
बुटवल| लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समयको सम्मान गर्दै आफ्नो व्यस्त कार्यतालिकाका बाबजुद कार्यक्रममा समयमै उपस्थित हुनुपर्ने एउटा सकारात्मक सन्देश दिएका छन्।
नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा आजदेखि तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सुरु भएको ‘१६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन’ मा सहभागी हुन मुख्यमन्त्री आचार्य निर्धारित समयभन्दा अगाडि पुगेका हुन्।
१० बजेको समय तोकिएको उद्घाटन सत्रका लागि उनी निर्धारित समयभन्दा पहिल्यै कार्यक्रम स्थल पुगेका थिए। प्रमुख अतिथिको रूपमा निम्त्याइएका मुख्यमन्त्री आचार्यले सहभागी र अन्य पाहुनाहरूलाई झण्डै २५ मिनेट प्रतीक्षा गरेका थिए।
सामान्यतया ठूला सार्वजनिक कार्यक्रमहरूमा विशिष्ट अतिथिहरू ढिलो गरी आउने प्रचलन देखिने गरे पनि मुख्यमन्त्री आचार्यको यो तत्परता र समयपालनालाई उपस्थित सहभागीहरूले प्रशंसा गरेका छन्।
“दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग” भन्ने नाराका साथ सुरु भएको यस दुई दिने सम्मेलनमा देशभरका सयौं पशु चिकित्सकहरू र विज्ञहरूको सहभागिता रहेको छ।
सम्मेलनले पशु स्वास्थ्य, सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षाका क्षेत्रमा नयाँ रणनीतिहरू तय गर्ने अपेक्षा गरिएको छ।
