मानव स्वास्थ्यका लागि ‘एक स्वास्थ्य’ अपरिहार्य : मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्यको दिगो सुरक्षाका लागि प्रकृति र पशुपन्छीको स्वास्थ्यलाई समान रूपमा प्राथमिकता दिनुपर्ने बताएकी छन्। विश्व स्वास्थ्य दिवस का अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘एक स्वास्थ्य’ (One Health) अवधारणालाई सुदृढ बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरिन्।

मन्त्री मेहताका अनुसार प्रकृति सुरक्षित नभएसम्म र पशुपन्छी स्वस्थ नरहेसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन सक्दैन। पछिल्लो समय मानव र पशुपन्छीबीच बढ्दो निकटताका कारण स्वास्थ्य क्षेत्रमा नयाँ तथा जटिल चुनौतीहरू थपिँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।

उनले विशेषगरी पशुपन्छीबाट सर्ने रेबिज जस्ता प्राणघातक रोग, जलवायु परिवर्तनसँग सम्बन्धित किटजन्य रोग तथा वातावरणीय प्रदूषणका कारण बढ्दो क्यान्सर, मुटुरोग र मस्तिष्कघातजस्ता नसर्ने रोगको जोखिमबारे ध्यानाकर्षण गराइन्। यस्ता समस्याको समाधानका लागि जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताइन्।

कार्यक्रममा मन्त्री मेहताले एन्टिमाइक्रोबियल औषधिको अव्यवस्थित प्रयोगले निम्त्याएको Antimicrobial Resistance को बढ्दो जोखिमबारे पनि सचेत गराइन्। मानिस र पशुपन्छी दुवैमा औषधिको अत्यधिक प्रयोगले भविष्यमा गम्भीर स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने भएकाले यसको नियन्त्रणमा सबै सरोकारवाला निकायले समन्वित रूपमा काम गर्नुपर्नेमा उनले जोड दिइन्।

सरकारले सन् २०१९ देखि ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उनले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाल कृषिप्रधान देश भएकाले ठूलो जनसङ्ख्या पशुपालनमा निर्भर रहेको सन्दर्भमा मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्ध अझ सुदृढ हुनुपर्ने मन्त्री मेहताको भनाइ छ। उनले नागरिकलाई उपचारभन्दा रोकथाममा जोड दिन आग्रह गर्दै सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन तथा स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिमाइक्रोबियल औषधि प्रयोग नगर्न सुझाव दिइन्।

यस वर्ष ‘मानव, पशुपन्छी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *