पोल्ट्री व्यवसायी रविन पुरी महासंघ निर्वाचनमा उम्मेदवार
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारण सभा तथा आसन्न निर्वाचनसँगै चुनावी माहोल तातेको छ। विभिन्न क्षेत्रका स्थापित उद्योगी–व्यवसायीहरू उम्मेदवारी घोषणा गर्दै चुनावी दौडमा सक्रिय भइरहेका छन्।
यसैबीच पोल्ट्री क्षेत्रका सफल व्यवसायी तथा नेपाल दाना उद्योग संघ का पूर्व अध्यक्ष रविन पुरी ले पनि महासंघको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन्। उनले वस्तुगततर्फको कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्। दाना उद्योग र पोल्ट्री व्यवसायमा लामो अनुभव बटुलेका पुरी कृषि तथा पशुपन्छी क्षेत्रका व्यवसायीहरूको प्रतिनिधित्व थप मजबुत बनाउने अपेक्षासहित मैदानमा उत्रिएका छन्।
दाना उद्योग र पोल्ट्री क्षेत्रमा लामो अनुभव बटुलेका उनले उत्पादन लागत, कच्चा पदार्थको आपूर्ति, अवैध आयात, चोरी–सिकारी तथा किसान–मैत्री नीतिका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।
महासंघको आगामी निर्वाचनमा मुख्यतः दुई प्यानलबीच प्रतिस्पर्धा देखिएको छ। एकतर्फ हेमराज ढकाल नेतृत्वको प्यानल रहेको छ भने अर्कोतर्फ अञ्जन श्रेष्ठ समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। दुवै प्यानलमा उद्योग, बैंकिङ, सेवा र उत्पादनमूलक क्षेत्रका प्रभावशाली व्यवसायीहरूको उपस्थिति रहेको छ।
रविन पुरी भने अञ्जन श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका छन्।
महासंघले सार्वजनिक गरेको कार्यतालिका अनुसार वार्षिक साधारण सभा चैत २९ गते ललितपुरमा हुनेछ भने पदाधिकारी तथा कार्यकारिणी समितिको निर्वाचन चैत ३० गते काठमाडौंमा हुनेछ।
