बर्डफ्लु जोखिम बढ्दो, नियन्त्रणमा उच्च सतर्कता अपनाउन नेभ्लाको आग्रह

काठमाडौँ ।नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन पछिल्लो समय देशका विभिन्न भागमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण देखापर्न थालेपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एशोसियसनका अध्यक्ष राम प्रसाद मेहताद्वारा जारी विज्ञप्तिमा विशेषगरी कोशी प्रदेशअन्तर्गत सुनसरी, मोरङ र झापा जिल्लामा संक्रमण पुष्टि भइसकेको तथा थप फैलिने उच्च जोखिम रहेको उल्लेख गरिएको छ।

एशोसियसनले रोग नियन्त्रण तथा अन्य क्षेत्रमा फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहका सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको औंल्याएको छ। साथै, तत्काल उच्च सतर्कता अपनाउँदै नियन्त्रणका उपायहरू कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ।

एशोसियसनले पोल्ट्री क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै बर्डफ्लु संक्रमणले यस क्षेत्रमा ठूलो आर्थिक क्षति पुर्‍याउने खतरा रहेको चेतावनी दिएको छ। मासु तथा अण्डामा आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको यस क्षेत्र प्रभावित हुँदा रोजगारी, उत्पादन र बजार प्रणालीमा प्रत्यक्ष असर पर्ने जनाइएको छ।
विज्ञप्तिमा रोग प्रभावित तथा उच्च जोखिमयुक्त क्षेत्रबाट कुखुरा, कुखुराजन्य उत्पादन तथा सम्बन्धित सामग्रीहरूको ओसारपसार नगर्न/नगराउन विशेष आग्रह गरिएको छ। यसले संक्रमण फैलिने जोखिमलाई अझ बढाउने भएकाले सम्बन्धित सबै निकायलाई कडाइका साथ निगरानी गर्न भनिएको छ।

एशोसियसनले आफ्ना सम्पूर्ण पाराभेटेरिनरी तथा प्राविधिक जनशक्तिलाई रोग नियन्त्रण तथा व्यवस्थापन कार्यमा सक्रिय रूपमा खटिन आह्वान गरेको छ। साथै, रोग नियन्त्रणमा खटिएका प्राविधिक, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायप्रति आभार व्यक्त गरिएको छ।

एशोसियसनले पशु सेवा विभाग तथा विश्व पशु स्वास्थ्य संगठन द्वारा जारी मापदण्ड र निर्देशनहरूको पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *