विश्व प्रोटिन दिवसः पोषण सुरक्षा र पोल्ट्री क्षेत्रप्रतिको भ्रममाथि बहस

काठमाडौँ । मध्यपुर ठिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पोल्ट्री क्षेत्रमा एण्टिबायोटिक औषधि र हर्मोन प्रयोगबारे फैलिएका भ्रमहरू वैज्ञानिक तथ्यले खण्डित भइसकेको भन्दै त्यसप्रति भ्रमित नहुन आग्रह गरेका छन्।

हरेक वर्ष फागुन १५ गते मनाइने विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै श्रेष्ठले कुखुराको मासु र अण्डा प्रोटिनका सुलभ, सुरक्षित र भरपर्दा स्रोत भएको बताए। उनले पोल्ट्री क्षेत्रमा एण्टिबायोटिक औषधि र हर्मोन प्रयोग हुने भन्ने गलत धारणा वैज्ञानिक प्रमाणले असत्य ठहर गरिसकेको उल्लेख गरेका छन्।

श्रेष्ठले विद्यालय दिवा खाजामा अण्डा समावेश गर्ने विषयमा स्थानीय तहले नीतिगत छलफल गर्न सक्ने धारणा व्यक्त गरेका छन्। यस्ता जनचेतनामूलक कार्यक्रम विद्यालयस्तरसम्म विस्तार गर्न सके अझ प्रभावकारी हुने उनको भनाइ थियो।

स्वागत मन्तव्य दिँदै नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले नेपाली समाजमा कार्बोहाइड्रेटको अत्यधिक र प्रोटिनको न्यून उपभोग दीर्घकालीन स्वास्थ्य जोखिमको कारण बन्दै गएको बताए। उनका अनुसार नेपालमा प्रतिव्यक्ति वार्षिक करिब ६५ वटा अण्डा र २० किलोग्राम मासु मात्र खपत हुने गरेको छ, जुन विश्वका अन्य मुलुकको औसतको तुलनामा अत्यन्त न्यून हो। विद्यालय तहदेखि नै प्रोटिनको महत्त्व पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिएका छन्।

मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले प्रोटिन मानव जीवनको वृद्धि र विकासका लागि अपरिहार्य रहेको बताए। मासुमा हर्मोन प्रयोग हुन्छ भन्ने भ्रम कार्यक्रममार्फत स्पष्ट भएको उनको भनाइ थियो। उनले साना किसान विस्थापनको जोखिममा परिरहेका सन्दर्भमा उनीहरूलाई संरक्षण र प्रोत्साहन आवश्यक रहेको बताएका छन्।

पोल्ट्री विज्ञ डा. दिनेश गौतमको संयोजनमा सम्पन्न प्यानल छलफलमा दाना उद्योग तथा पोल्ट्री क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए। छलफलका क्रममा दाना उद्योग संघका महासचिव केशवराज थापाले सन् २०१६ यता दानामा एण्टिबायोटिक औषधि प्रयोग नगरिएको बताएका छन्। उत्पादनको गुणस्तरमा कुनै सम्झौता नभएको उनको दाबी थियो। यदि कुनै दाना उद्योगीले सरकारी नीतिविपरीत एण्टिबायोटिक प्रयोग गरेको पाइए कठोर कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहालले ‘प्रोटिनमाथिको अधिकार’ अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। नेपालमा उत्पादन हुने पशुजन्य खाद्य पदार्थ सुरक्षित रहेको उनले स्पष्ट पारे। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले गर्भावस्थादेखि नै प्रोटिन आवश्यक पर्ने बताएकी छन्। गुणस्तर, भण्डारण तथा उपभोक्ता सचेतनामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा यूसेकका नेपाल प्रतिनिधि डा. अशेष भट्टराईले प्रोटिनका स्रोत, आवश्यकता तथा सन्तुलित आहारमा यसको भूमिकाबारे जानकारीमूलक प्रस्तुति दिएका थिए।

कार्यक्रमले नेपालमा प्रोटिनको न्यून उपभोग, यसको पोषणगत महत्त्व तथा पोल्ट्री क्षेत्रप्रति फैलिएका भ्रम निवारणमा केन्द्रित सन्देश दिएको आयोजकले जनाएको छ। सन् २०२० देखि नियमित रूपमा मनाइँदै आएको विश्व प्रोटिन दिवस मानव स्वास्थ्य, पोषण सुरक्षा तथा सन्तुलित आहारमा प्रोटिनको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ।

कार्यक्रममा युनाइटेड स्टेट्स सोयाबिन एक्सपोर्ट काउन्सिलको प्राविधिक सहयोग रहेको थियो। साथै नेपाल पोल्ट्री महासंघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल लेयर्स कुखुरा पालक संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ तथा नेपाल भेटेरिनरी एशोसिएसनको सहकार्य रहेको थियो।

प्रोटिन उपभोग वृद्धि, पोषण सुरक्षाको प्रवर्द्धन तथा पोल्ट्री क्षेत्रप्रति फैलिएका भ्रम निवारणमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको निष्कर्ष रहेको छ। कार्यक्रममा विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *