चितवनमा कुखुरामा इकोलाईको उच्च सङ्क्रमण

चितवन । चितवन जिल्लामा पालिएका कुखुरामा इकोलाई (E. coli) को उच्च सङ्क्रमण देखिएको छ। राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालाले चालु आर्थिक वर्षको साउनयता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा बढी इकोलाईको समस्या फेला परेको हो।

कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा इकोलाई सङ्क्रमण पुष्टि भएको छ। मरेका कुखुराको कलेजोबाट नमूना संकलन गरी परीक्षण गर्दा रोग पहिचान गरिएको उहाँले जानकारी दिनुभयो। दूषित पानीको प्रयोगका कारण यो रोग बढी फैलिने गरेको उहाँको भनाइ छ।

यसैगरी, पाँच प्रतिशत कुखुरामा साल्मोनेला सङ्क्रमण पनि देखिएको छ। दूषित दाना, पानी तथा सामग्रीको प्रयोगबाट यो रोग सर्ने डा. श्रेष्ठले बताउनुभयो। व्यावसायिक कुखुरापालक किसानले आहार व्यवस्थापन र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण बढ्न सक्ने उहाँको भनाइ छ।

प्रयोगशालाले अन्य संक्रामक रोगहरूको पनि परीक्षण गरेको छ। ९४ वटा कुखुराको परीक्षण गर्दा १४ वटामा एभिएन इन्फ्लुएन्जा पुष्टि भएको छ। त्यस्तै, ३५ कुखुराको परीक्षणमा ६ वटामा रानीखेत, ५३ मध्ये २६ वटामा गम्बारो रोग देखिएको छ। १८ वटा नमूनामा इन्फेक्सियस ब्रोन्काइटिस परीक्षण गर्दा १ वटामा सङ्क्रमण भेटिएको छ भने ९२ वटा कुखुरामा गरिएको चिकेन एनिमिया परीक्षणमध्ये ३० वटामा सङ्क्रमण देखिएको छ। चिकेन एनिमिया रोग इलाइजा (ELISA) प्रविधिबाट परीक्षण गरिन्छ।

रानीखेत र गम्बारो दुवै भाइरसजन्य रोग हुन्। यी रोगहरू जैविक सुरक्षा (बायो–सिक्युरिटी) नअपनाउँदा फैलिने भएकाले कृषकहरूले कडाइका साथ जैविक सुरक्षा उपाय अपनाउनुपर्ने डा. श्रेष्ठले आग्रह गर्नुभयो।

प्रयोगशालाले हाल कुखुरामा रोग पहिचानका लागि पीसीआर (PCR) विधिबाट परीक्षण सुरु गरेको छ। कुखुराको ¥याल (स्वाब) बाट एभिएन इन्फ्लुएन्जा परीक्षण गरिन्छ। यस प्रविधिबाट हालसम्म १४ वटा कुखुराको परीक्षण गरिएको छ। पीसीआर प्रविधिबाट बर्ड फ्लु जस्ता रोग छिटो र यथार्थ रूपमा पहिचान गर्न सहज हुने प्रयोगशालाले जनाएको छ।

जिल्लामा हालसम्म बर्ड फ्लुको ठूलो प्रकोप भने नदेखिएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *