कुखुरा पालनमा एन्टीबायोटिकको विकल्प खोज्दै ‘नरफिड

दानामा एन्टीबायोटिक निषेध गर्ने सरकारको नीति

काठमाडौं ।कुखुरा पालन क्षेत्रमा एन्टीबायोटिकको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै दिगो, सुरक्षित र प्राकृतिक विकल्पहरूको खोजी गर्ने उद्देश्यले राजधानीको होटल र्‍याडिसनमा शुक्रबार ‘नरफिड सेमिनार’  सम्पन्न भएको छ। कान्तिपुर भेट डिस्ट्रिब्युटर्सको सहकार्यमा आयोजित यस प्राविधिक गोष्ठीमा कुखुराको पेटको स्वास्थ्य , श्वासप्रश्वाससम्बन्धी चुनौती तथा एन्टीबायोटिक प्रतिरोधका विषयमा गहन मन्थन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले नेपाल सरकारको नीतिबारे प्रष्ट पार्दै पशुपन्छीको दानामा ‘एन्टीबायोटिक ग्रोथ प्रमोटर’  को प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको जानकारी दिए। उनले भने, “दानामा एन्टीबायोटिक बन्द गर्दा केही चुनौती देखिए तापनि मानव स्वास्थ्य तथा सुरक्षित मासु उत्पादनका लागि यो अनिवार्य छ। सरकारले प्राकृतिक र वैज्ञानिक विकल्पहरूलाई सधैं प्रोत्साहन गर्नेछ।”

कार्यक्रममा नरफिडका रिजनल टेक्निकल डाइरेक्टर डा. प्रभु रामसामीले कम्पनीको उद्देश्य र दर्शनबारे प्रकाश पारे। उनले नरफिड फ्रान्सको एक अग्रणी कम्पनी भएको जानकारी दिँदै कम्पनीको स्थापना नै पशु उत्पादनमा एन्टीबायोटिक वृद्धि प्रवर्द्धकहरूको विकल्प खोज्न र दिगो समाधान दिनका लागि भएको बताए।

डा. रामसामीले भने, “हामी बोटबिरुवा र वनस्पतिका अर्कहरूमा विश्वास गर्छौं। हाम्रा उत्पादनहरू कृषि उप–उत्पादनहरूबाट तयार पारिन्छन्, जसले वातावरण र पशु उत्पादन दुवैलाई दिगो बनाउँछ।” उनले नरफिडको मुख्य विशेषता ‘पारदर्शिता’ रहेको उल्लेख गर्दै थपे, “धेरै कम्पनीहरूले वनस्पतिजन्य समाधानका नाममा ‘ब्ल्याक बक्स’ (भित्र के छ नखुलाइएको) उत्पादन दिन्छन्, तर नरफिडले आफ्ना प्रत्येक उत्पादनमा कुन सक्रिय अणु  छ र त्यसको संरचना कस्तो छ भन्ने कुरा विश्लेषणको उचित प्रमाणपत्रसहित पारदर्शी रूपमा उपलब्ध गराउँछ।”

मुख्य वक्ता तथा वरिष्ठ पोषण परामर्शदाता डा. दिनेश गौतमले नेपालमा कोक्सिडिया (रगतमासी) लाई केवल ‘रातो छेर्ने रोग’ को रूपमा मात्र बुझ्ने गलत धारणा रहेको र यसले अर्थतन्त्रमा ठूलो असर पारिरहेको बताए। उनले यसको नियन्त्रणका लागि खोप प्रभावकारी उपाय भएको र औषधिको सही छनोट तथा ‘रोटेसन’ (घुमाएर प्रयोग गर्ने विधि) आवश्यक रहेकोमा जोड दिए।

नरफिडकी उत्पादन व्यवस्थापक मारी–सोफीले नेपालका अधिकांश कल्चर केसहरूमा एन्टीबायोटिक प्रतिरोध देखिएको डरलाग्दो तथ्याङ्क प्रस्तुत गरिन्। उनले एन्टीबायोटिकको विकल्पका रूपमा नरफिडका प्राकृतिक समाधानहरू नार–आइमेरिया (NAR-Eimeria), नार–स्पाइस (NAR-Spice)नार–ग्रेप (NAR-Grape)ले कुखुराको आन्द्राको संरचना मजबुत बनाउने तथा रोगजन्य जीवाणुको वृद्धि रोक्ने वैज्ञानिक प्रमाणहरू प्रस्तुत गरिन्।

कार्यक्रमको समापन गर्दै कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका अनिश बडालले आधुनिक प्रविधि र वैज्ञानिक पोषणमार्फत नेपाली कुखुरा किसानको आम्दानी सुरक्षित गर्न र उपभोक्तालाई सुरक्षित मासु उपलब्ध गराउन आफूहरू सधैं प्रतिबद्ध रहेको बताए। गोष्ठीमा पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. हेमराज अवस्थी, नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेश सापकोटा तथा पूर्वअध्यक्ष रबिन पुरी  लगाएत देशभरका पशु चिकित्सक, फार्म प्राविधिक, विज्ञ तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *