पोखरामा व्यवसायिक पोल्ट्री तालिम सम्पन्न

पोखरा।ए.बी. पेलेट फिड प्रा.लि. र ढकाल दाना पोल्ट्री सप्लायर्सको संयुक्त आयोजनामा पोखरामा एकदिने व्यवसायिक पोल्ट्री तालिम सम्पन्न भएको छ। स्थानीय किसान तथा पोल्ट्री व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा ४५ जना किसान तथा उद्यमीहरूको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म नेउपाने (भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, कास्की) ले नेपालमा पोल्ट्री क्षेत्रले कृषि अर्थतन्त्रमा खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले वैज्ञानिक र व्यवस्थित तरिकाले कुखुरापालन गर्न सके कम लागतमा समेत उत्पादन वृद्धि सम्भव हुने बताउँदै तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न किसानहरूलाई आग्रह गर्नुभयो।

तालिमका प्रशिक्षक डा. कुमार पौडेल र डा. थानेश्वर भट्टले आधुनिक पोल्ट्री व्यवस्थापन प्रणालीबारे प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा पोषण व्यवस्थापन, उपयुक्त दाना प्रयोग, आवास व्यवस्था, तापक्रम नियन्त्रण, सरसफाइ तथा जैविक सुरक्षा (बायोसेक्युरिटी) जस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए। साथै पोल्ट्रीमा देखिने प्रमुख रोग, तिनका लक्षण, उपचार तथा रोकथामका उपायबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो।

ए.बी. पेलेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक विवेक सञ्जेलले गुणस्तरीय दाना र स्वस्थ चल्लाको प्रयोगले उत्पादन वृद्धि तथा रोग नियन्त्रणमा निर्णायक भूमिका खेल्ने बताउनुभयो। उहाँले किसानहरूलाई सस्तोभन्दा गुणस्तरलाई प्राथमिकता दिन सुझाव दिँदै कम्पनीले निरन्तर प्राविधिक सहयोग र तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

त्यसैगरी पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डा. सचिन रेग्मीले न्यूक्यासल, ककसिडियोसिस, आईबी, सीआरडी लगायत पोल्ट्रीमा देखिने प्रमुख रोगहरूको लक्षण, उपचार तथा रोकथामका उपायबारे जानकारी गराउनुभयो। प्रारम्भिक लक्षण समयमै पहिचान गर्न सके ठूलो आर्थिक क्षतिबाट जोगिन सकिने उहाँको भनाइ थियो।

ढकाल दाना पोल्ट्री सप्लायर्सका प्रोप्राइटर शुक्रराज ढकालले किसानहरू नै पोल्ट्री उद्योगका आधार स्तम्भ भएको उल्लेख गर्दै तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी उत्पादन वृद्धि गर्न सहभागीहरूलाई प्रेरित गर्नुभयो। कार्यक्रममा उत्कृष्ट किसानहरूलाई सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो।

तालिम कार्यक्रमको समन्वय ए.बी. पेलेट फिड प्रा.लि. का दिपेश लामिछानेले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा सहभागी किसानहरूलाई टी–सर्ट, सहभागिता प्रमाणपत्र तथा तापक्रम नाप्ने थर्मोमिटर वितरण गरिएको थियो।

तालिममा सहभागी किसानहरूले कार्यक्रम अत्यन्तै उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि गर्ने तालिम कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *