लागत नजिकिँदै अण्डाको मूल्य, किसानमा आशा पलायो

चितवन : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग बढेको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः वृद्धि हुँदै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो।

सङ्घका अनुसार ठूलो अण्डाको एक क्रेट (३० वटा) को फार्म मूल्य रु ४९५ पुगेको छ। यसअघि ठूलो अण्डा प्रतिक्रेट रु ४६५ मा बिक्री हुँदै आएको थियो, जुन हाल रु ३० ले बढेको हो। यस्तै, मझौला अण्डाको फार्म मूल्य रु ४७५ कायम गरिएको छ। यसअघि मझौला अण्डा रु ४४५ मा बिक्री हुँदै आएको थियो।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो समयमा फार्ममा ठूलो अण्डा प्रतिक्रेट रु ५६५ मा बिक्री भएको थियो भने मझौला अण्डाको मूल्य रु ५५० रहेको थियो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु तथा निर्वाचनका कारण सीमा क्षेत्रमा कडाइ बढ्नुले अण्डाको मूल्यमा वृद्धि भएको हो।

अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्दा उत्पादनमा कमी आउनु, बन्द रहेका विद्यालयहरू खुल्नु लगायतका कारणले पनि अण्डाको मूल्यमा क्रमिक सुधार देखिन थालेको हो। अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट रु ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ।

लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घट्दा किसान निरास बनेका थिए। अब भने मूल्य बढ्ने आशमा किसान रहेका छन्। सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *