नेपाल डेरी एसोसिएशनद्वारा डा. बंशी शर्मा सम्मानित
ललितपुर । डेरी तथा कृषि क्षेत्रको नीति निर्माण, संरचनागत सुधार र संस्थागत विकासमा दीर्घकालीन योगदान पुर्याएबापत पूर्व प्रदेश कृषि सचिव डा. बंशी शर्मा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। नेपाल डेरी एसोसिएशनको २७ औँ साधारण सभा तथा ९ औँ राष्ट्रिय अधिवेशनको अवसरमा आयोजित विशेष कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
नेपाल डेरी एसोसिएशनले कृषि तथा डेरी क्षेत्रलाई व्यवस्थित, दिगो र किसानमुखी बनाउन डा. शर्माले निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको जनाएको छ। सम्मानपत्रमा कृषि तथा डेरी क्षेत्रको नीति, संरचना र दीर्घकालीन विकासका लागि उहाँले पुर्याएको जिम्मेवारीपूर्ण योगदान, दूरदर्शी नेतृत्व र इमानदार सेवाभावको प्रशंसा गरिएको छ।

एसोसिएशनका अनुसार डा. शर्माको नेतृत्वकालमा डेरी उद्योग र किसानबीचको समन्वय सुदृढ हुनुका साथै नीतिगत सुधार र संस्थागत विकासका महत्वपूर्ण पहलहरू अघि बढेका थिए। उहाँका अनुभव, ज्ञान र योगदान आगामी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वाससमेत एसोसिएशनले व्यक्त गरेको छ।
उक्त कार्यक्रममा डेरी उद्योगका प्रतिनिधि, कृषि क्षेत्रका सरोकारवाला तथा विभिन्न प्रदेशबाट आएका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
