पोल्ट्री क्षेत्रका समस्याबारे रास्वपा उम्मेदवारहरूसँग लेयर्स कुखुरापालक संघको छलफल
चितवन । नेपाल लेयर्स कुखुरापालक संघका पदाधिकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूसँग पोल्ट्री क्षेत्रको संकट र समाधानका उपायबारे छलफल गरेका छन्।
चितवनबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका रास्वपा सभापति रवि लामिछाने, हरि ढकाल र सोबिता गौतमका साथै रास्वपा केन्द्रीय सदस्य राजन गौतमसँग संघले पोल्ट्री क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी योजनाबारे गम्भीर विमर्श गरेको हो।
छलफलमा संघका पदाधिकारीहरूले पोल्ट्री व्यवसायीहरूले भोग्दै आएका जटिलता, बढ्दो उत्पादन लागत, बजार व्यवस्थापनमा रहेका चुनौती र राज्यको फितलो नीतिबारे उम्मेदवारहरूको ध्यानाकर्षण गराएका थिए।
जवाफमा उम्मेदवार त्रय लामिछाने, ढकाल र गौतमले पोल्ट्री क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसका समस्या समाधानका लागि नीतिगत तहबाटै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्षद्वय ज्योतेन्द्र श्रेष्ठ र अमोद खनाल, सचिव मदन पोखरेल तथा कोषाध्यक्ष प्रकाश चापागाईंलगायतको उपस्थिति रहेको थियो।
