नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रदर्शनी भरतपुरमा आयोजना हुँदै
कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि. ले विगतका वर्षहरूझैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आयोजना गर्ने भएका छन्। उक्त प्रदर्शनी यही माघ २ देखि ४ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।
आयोजना हुन गइरहेको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहनेछन्।
यस प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम तथा वित्तीय सेवासम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ।
उक्त प्रदर्शनीमा देश तथा विदेशबाट आएका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि तथा आम कृषकहरूले आधुनिक प्रविधिहरूको अवलोकन गर्न र आफ्ना जिज्ञासा समाधान गर्न सक्ने आयोजकको विश्वास छ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि हाल सीमित स्टलहरू मात्र बाँकी रहेका छन् भने स्टल बुकिङ तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन सहयोग पुर्याउने साना औजारदेखि लिएर डेरी मेसिनरी तथा पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने ठूला उपकरणहरूको प्रदर्शनी तथा प्रत्यक्ष डेमोसमेत गरिनेछ। यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।
उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पुग्ने र तिनको प्रयोगमार्फत कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवर्द्धकको भूमिकामा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ भने सहयोगी संस्थाहरूमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल तथा चितवन उद्योग संघ रहेका छन्।
