पशु चिकित्सा परिषद्को उपाध्यक्षमा डा. जगदीश पाण्डेयको उम्मेदवारी घोषणा

नेपाल पशु चिकित्सा परिषद्को निर्वाचन

काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्को उपाध्यक्ष पदका लागि डा. जगदीश पाण्डेयल आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराका प्रमुख तथा नेपाल सरकारका सहसचिवका रूपमा कार्यरत डा. पाण्डेयले आगामी २०८१ माघ ५ गते हुने परिषद्को निर्वाचनमा उम्मेदवारी घोषणा गर्दै आफ्नो उम्मेदवारीलाई पशु चिकित्सा पेशाको समग्र विकास र परिषद्को सुदृढीकरणका लागि महत्त्वपूर्ण कदमको रूपमा प्रस्तुत गरेका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा वन विज्ञान अध्ययन संस्थान बाट बी.भी.एस्सी. एण्ड ए.एच. अध्ययन पूरा गरेका डा. पाण्डेयले कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन्। पशु चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उनले राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरा, कास्कीमा प्रमुख पशु विकास अधिकृतका रूपमा योगदान दिँदै आएका छन्।

आसन्न निर्वाचनको विषयमा भेट टाइम्ससँग कुराकानी गर्दै, डा. पाण्डेयले आफ्नो उम्मेदवारी पेश गर्नको मुख्य उद्देश्य समृद्ध नेपाल पशु चिकित्सा परिषद् स्थापना गर्नु र सम्मानित पशु चिकित्सा पेशा कायम गर्नु रहेको बताए। उनले भने, “पशु चिकित्सकहरूको पेशागत सुरक्षामा सुधार, परिषद्को संस्थागत विकास, र पशु चिकित्सा सेवाको गुणस्तर अभिवृद्धि गर्न म प्रतिबद्ध छु।“

उनले थपे, “परिषद्ले नेपालको पशुपन्छी क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्न, नीतिगत सुधार गर्न, र पशु चिकित्सकहरूको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेछ। यी उद्देश्यहरूलाई पूरा गर्न मेरो उम्मेदवारी महत्त्वपूर्ण हुने विश्वास छ।“

डा. पाण्डेयको उम्मेदवारीसँगै यसअघि डा. शितल काजी श्रेष्ठ र डा. मनोज कुमार शाहीले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

नेपाल पशु चिकित्सा परिषद्को निर्वाचन २०८१ माघ ५ गते काठमाडौंमा हुने तय भएको छ। परिषद्ले पशु चिकित्सा पेशाको नियमन, आचारसंहिता कार्यान्वयन, र शिक्षण संस्थाको नियमनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *