उपभोक्ता संरक्षण विभागको अनुगमन : महानगर इन्टरनेशनललाई ५० हजार जरिवाना
काठमाडौं – भेट टाइम्स मासिकले पेट व्यवसायमा भइरहेको कालोबजारी र अनियमितता उजागर गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाइका साथ अनुगमन कार्य अघि बढाएको छ। यसै क्रममा, बुढानिलकण्ठ नगरपालिका–७ मा रहेको महानगर इन्टरनेशनलमा विभागको टोलीले अनुगमन गरी ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
अनुगमनका क्रममा पसलमा मूल्य सूची नराखेको, दर्ता प्रमाणपत्र उपलब्ध नगराएको, र एमआरपी (अधिकतम खुद्रा मूल्य) सम्बन्धी कानूनी प्रावधान उल्लंघन गरेको पाइएको थियो। यी गम्भीर त्रुटीहरूका कारण विभागले तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिँदै जरिवाना समेत तोकेको हो।
अनुगमन टोली मंसिर ११ गते दैनिक बजार अनुगमन अभियानअन्तर्गत टोली नं. ३ का चार जना अनुगमन अधिकृतहरूको सहभागितामा खटिएको थियो।
पछिल्ला दिनहरूमा पेट व्यवसायमा एमआरपी उल्लंघन, अवैध औषधि बिक्री, दोहोरो बिल प्रणाली, र उपभोक्तामाथि भइरहेको आर्थिक शोषणजस्ता विषयमा भेट टाइम्सले कार्तिक अंकमा विशेष रिपोर्ट प्रकाशित गरेको थियो। यसले सरकारी निकायहरूको ध्यानाकर्षण गराउँदै अनुगमन अभियानलाई तीव्र बनाएको छ।
विभागले यसअघि पनि अनियमिततामा संलग्न व्यवसायहरूलाई सचेत गराइसकेको थियो। तर, सुधार नदेखिएपछि जरिवाना र कारबाही अघि बढाएको हो।
हाल सरकारका बिभिन्न निकायले राजस्व छल्न प्रयोग गरिएका दोहोरो बिल प्रणाली, दर्ता नभएका औषधिको बिक्री, र उपभोक्तासँग हुने अनियमितताबारे थप अनुसन्धान गरिरहेका छन ।
पेट व्यवसायभित्रका विकृतिहरू हटाउन सरकारी निकायहरूको अनुगमन प्रभावकारी साबित भएको देखिन्छ। यस कदमले उपभोक्ताका अधिकार संरक्षण र व्यवसायमा पारदर्शिता सुनिश्चित गर्ने दिशामा सकारात्मक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।