नियमनकारी निकाय व्यवसायमैत्री छैन
तपाईं नेपाल पशुपन्छी औषधि व्यावसायी संघको पूर्वअध्यक्ष हुनुहुन्छ । संघको गतिविधि कस्तो पाउनुभएको छ ?
पशुपन्छी औषधि व्यवसायीका समस्या बढ्दो छन् । तर, तिनको पहिचान गरेर समाधान गर्ने पाटो कमजोर छ ।
अध्यक्ष हुँदा गरेका सम्झनालायक उपलब्धिहरू छन् कि ?
छन् नि, किन नहुनु । मेरो कार्यकालमा ६ वटा त तालिम नै सञ्चालन गर्यौं । यसबाट धेरै व्यवसायी साथीहरू लाभान्वित हुनुभयो । महासचिव छँदा त पाठ्यक्रम नै बनाए । संयोग कस्तो भने त्यही पाठ्यक्रमअनुसार अध्यक्ष हुँदा तालिम सञ्चालन गर्न पाएँ । हाम्रो पालामा सामूहिकताको भावना थियो । निणर्यहरू सर्वसम्मत हुन्थे । यसले कार्यान्वयन गर्न सहज बनाउँथ्यो । सबैको भावना समेटेर अघि बढेपछि विश्वास र भरोसा स्वभाविक रूपमा बढ्ने नै भयो । संघको आर्थिक अवस्था पनि अहिलेभन्दा निकै मजबुत थियो ।
व्यवसायीका समस्याहरू ज्यूँकात्यूँ हुनुमा को दोषी देख्नुहुन्छ ?
नियमनकारी निकाय व्यवसायमैत्री छैन । नियम-कानूनको कुरा गरेर अल्झाउने काम हुन्छ । जस्तै, औषधिकै कुरा गरौं । जसले यसको नियमन गर्छ, उसैले सहजीकरण पनि गरिदिनुपर्ने हो । सेवाग्राहीप्रति नियामक उत्तरदायी थिए भने यसो गर्न उनीहरू अग्रसर हुन्थे । तर यहाँ त हामी व्यवसायीले पहल गर्दा समेत सुनुवाइ भएको छैन । नियमनकारी पेलेर अगाडि बढेको छ । सारमा भन्नु पर्दा राज्यमा व्यवसायीका समस्या सुन्दै नसुनेको अवस्था छ ।
संघका वर्तमान अध्यक्ष भूपेन्द्रप्रसाद गौतमको कार्यकाल कस्तो रह्यो ?
व्यक्तिगत रूपमा उहाँ असाध्यै राम्रो मान्छे । तर संगठन सञ्चालनको अनुभव नभएकाले हुनुपर्छ, सामूहिक नेतृत्वमा उहाँ अघि बढ्न सक्नु भएन । सामूहितामा अघि बढ्दा आर्जन हुने शक्तिले समस्या समाधान हुने भए पनि उहाँ चुक्नुभयो । समयले पनि उहाँलाई साथ दिएन । कार्यकाल भएलगत्तै कोभिड महामारी सुरु भयो ।
आसन्न अधिवेशनले कस्तो कार्यसमिति बनाउँदा उपयुक्त होला ?
गुटगत संगठनको ऐंजेरु हो, यसको अन्त्य गर्न सकिएन भने संस्थाको भविष्य अन्धार हुन्छ । त्यसैले यसको अन्त्य गरेर सामूहिकतामा विश्वास गर्ने व्यक्ति कार्यसमितिमा आउनु पर्छ । व्यवसायी अनेक समस्यामा छन् । ती समस्याको समाधान गर्दै त्यतिबेला शक्ति आर्जन हुन्छ जतिबेला फुटेर होइन, जुटेर काम गर्न सकिन्छ ।
प्रतिनिधि एवं व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?
व्यक्तिगत स्वार्थभन्दा छाडेर सामूहिक स्वार्थ हेर्ने नेतृत्व चुन्न म प्रतिनिधिहरूलाई सुझाव दिँदै महाधिवेशनको पूणर् सफलताको कामना गर्दछु ।