सरकारी जागिर छाडेर कुखुरापालनमा रमाइरहेकी मेनुका

भन्छिन्–घुस नखाई दोलखाका पशुचिकित्सकले कामै गर्दैनन्

सरकारी जागिर खाने सपना धेरैको हुन्छ । अधिकांशको जीवनको मूल लक्ष्य सरकारी सेवा गर्ने हुन्छ । तर मेनुका उप्रेती भने प्राथमिक तहको हुँदाखाँदाको शिक्षकको स्थायी जागिर नै छाडेर कुखुरापालन व्यवसायमा हेलिइन् । दोलखाको भीमेश्वर नगरपालिकामा ९ हजार लेयर्स जातका कुखुरा पालन गरिरहेकी उप्रेती आवश्यक प्राविधिक ज्ञान र सीप हासिल गरेर यो क्षेत्रमा लाग्दा राम्रो आयआर्जन गर्न सकिने बताउँछिन् ।
शिक्षण पेशा छाडेर झण्डै एक दशकदेखि कुखुरापालन गरिरहेकी  उप्रेतीले यो पेशा अँगाल्नुको रोचक पृष्ठभूमि, समस्या, चुनौती र सम्भावनाबारे आफ्नै शब्दमा यसरी सुनाइन् ः

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा मेरो फार्म छ । फार्ममा लेयर्स कुखुराका साथै खसीबोका पनि छन् । मौसम अनुसारको तरकारी खेती पनि गर्छु । यद्यपि, मेरो मुख्य फोकसचाहिँ अण्डा दिने लेयर्स जातका कुखुरा पालनमै छ । अहिले मेरो फार्ममा ९ हजार लेयर्स कुखुरा छन् । यसमा १० हजार कुखुरा पालन गर्न मिल्ने भए पनि पातलो, पातलो गरेर ९ हजार मात्र राखेको छु ।

मैले लेयर्स कुखुरा पालन गर्न थालेको ८ वर्ष पुगेर ९ वर्ष लागेको छ । सुरुमा साझेदारी मोडलमा यो काम गरेको थिएँ । तर यो मोडल खासै फापेन, उल्टै डुब्यो । शून्यमा मात्रै झरेको भए त केही हुँदैनथ्यो । तर यो त माइनसमा नै झ¥यो । ५ वर्षयता भने त्यसलाई एकल स्वामित्वमा ल्याएर सञ्चालन गरिरहेको छु । अहिले म सन्तुष्ट छु । कुखुरापालनसँग सम्बन्धित ज्ञान भयो र समय दिन सकियो भने यसबाट राम्रै मुनाफा हुने रहेछ । यदि ज्ञान छैन भने जति खटे पनि यसबाट प्रतिफल मिल्दैन । साझेदारीमा छँदाको मेरो अनुभवले यही भन्छ । किनभने, त्यतिबेला म राम्रै खटेको थिएँ । मजदुरले गर्ने सबै काम गर्थेँ । तर लेयर्स पालनबारे भने ज्ञान थिएन । विना ज्ञानको खटाइ भएकाले जति गरे पनि लाभ मिलेन ।
कुखुरापालन देखासिकी र लहडका भरमा गर्ने काम होइन । यसका लागि केही पक्षको भूमिका अपरिहार्य हुन्छ । पहिलो कुरा त, कुखुरामा लाग्ने विभिन्न प्रकारका रोगहरूबारे जानकारी हुनुपर्छ । रोगबारे ज्ञान भयो भने यसबाट हुने क्षति कम गर्न सकिन्छ ।

कुखुरापालन सुरु गरेपछि मैले थाहा पाएँ, यसको पनि आफ्नै मनोविज्ञान र भावना हुने रहेछ । अन्य प्राणीजस्तै यो पनि खुसी र दुःखी दुवै हुँदा रहेछन् । त्यसैले कुखुरापालन गर्दा यिनीहरू कसरी खुसी हुन्छन्, राम्रोसँग हुर्कन्छन्, बढ्छन् भनेर ध्यान दिन अपरिहार्य हुन्छ ।

कुखुरापालनमा खाना, पानी र पोषण तत्वबारेको ज्ञान पनि उत्तिकै महत्वपूर्ण हुन्छ । ओभानो, सफा खोर, स्वच्छ वातावरणको प्रबन्ध गर्न सकियो भने कुखुराबाट राम्रै प्रतिफल लिन सकिन्छ ।

शिक्षकको जागिर छाडेर कुखुरापालन

कुखुरापालन पहिले मेरो रुचिको विषय नै थिएन । म विद्यालयमा अध्यापन गराउँथे । रुचि पनि शिक्षण पेशामै थियो । प्राथमिक तहको स्थायी शिक्षकका रूपमा झण्डै १३ वर्ष काम गरेँ । तर बाध्यता र परिस्थितिले मलाई कुखुरापालनमा हेलिन बाध्य बनायो । यसको अलग्गै कथा र पृष्ठभूमि छ । हामीले थालेको कुखुरापालन व्यवसाय सुरुमा आफन्तसँगको साझेदारीमा थियो । यसमा धेरै लगानीचाहिँ हाम्रो परिवारको थियो । राज्यबाट यसमा थोरै रकम अनुदान पनि मिलेको थियो । तर त्यो लगायत सबै गरेर ३–४ करोड लगानी रूपैयाँ लगानी चुर्लुम्मसँग डुब्यो । ऋण तिर्न सबै जायजेथा बेचियो । तर त्यति गर्दा पनि सबै ऋण चुक्ता भएन, डेढ÷दुई करोड रूपैयाँ बाँकी नै बस्यो । शिक्षकको सरकारी जागिर सुरक्षित थियो । यसमा कुनै चुनौती थिएन । तर त्यसको तलबबाट ऋण त परको कुरा ब्याज र हर्जनासमेत तिर्न सकिने अवस्था थिएन । त्यसैले जे त होला भनेर त्यसलाई त्यागेर व्यवसायमा हेलिएँ । कठिन समयमा चुनौतीपूर्ण काम गरे पनि अहिले राम्रो भएको छ । बिक्री होला या नहोला, छुट्टै कुरा हो । तर अहिले मसँग दुई, साढे दुई करोडको जायजेथा छ । संघर्ष र चुनौतीका बावजुद कुखुरापालनबाट मिलेको सफलताले म सन्तुष्ट नै छु ।

कुखुरापालनका सप्ठ्यारा, अप्ठ्यारा कुरा

कुखुरापालनमा सप्ठ्याराभन्दा अप्ठ्यारा पाटा नै धेरै छन् । आफूलाई आवश्यक परेकाले मैले कुखुरापालनका लागि आवश्यक ज्ञानहरू विभिन्न माध्यमबाट हासिल गरेँ । ह्याचरीहरूले निकाल्ने पुस्तकहरूमा ९२ प्रतिशतदेखि ९५ प्रतिशतसम्म उत्पादन हुन्छ भनेर लेखिएको हुन्छ । तर मैले ९७ प्रतिशतसम्म उत्पादन लिँदै आइरहेको छु । कुखुराको मृत्युदर अत्यन्त कम भएकाले यो व्यवसायमा टिक्न मद्दत मिलेको छ ।

पशुपन्छी क्षेत्रको विकास र किसानहरूको सहायताका लागि सरकारले जिल्ला जिल्लामा पशु सेवा कार्यालय सञ्चालनमा ल्याएको छ । यस्ता कार्यालयहरूबाट किसानले सहयोग पाउनुपर्ने हो । मेरो विचारमा यी कार्यालय स्थापनाका उद्देश्य पनि पशुपन्छी क्षेत्र र किसानको विकास तथा प्रगति नै हो । पहिले पहिलेका भेटेरिनरी चिकित्सकहरूबाट राम्रै सेवा प्रवाह हुन्थ्यो । उहाँहरूले रकम माग गरेको मैले कहिल्यै थाहा पाइनँ । प्रायःले रकम नै लिन खोज्नु हुन्नथ्यो । लिए पनि २००÷३०० रूपैयाँ लिनुहुन्थ्यो । राम्रो सेवा प्रवाह गरेकाले उहाँहरूलाई हामी आफैं खुसीराजीले अण्डा उपहार दिन्थ्यौं । तर केही समयता यी कार्यालयहरूबाट हामीले सहयोग पाइरहेका छैनौं । सहयोग गर्नेभन्दा पनि हाम्रा बाध्यताहरूमा खेलेर अप्ठ्यारो पार्ने काम पशु सेवा कार्यालयका पशु चिकित्सकहरूबाट भइरहेको छ । एउटा सानो भेटेरिनरी प्रमाणपत्र जारी गर्न पनि उहाँहरूले हामीसँग रकम माग्ने गर्नुहुन्छ । बडाबडमा अण्डर टेबल रकम माग गर्दा हामी किसान प्रताडित छौं । दस्तुर बुझाएपछि सरकारी रसिद दिनुस् न त हामी तिर्छौं भन्दा पनि त्यसको वास्तै नगरी रकम मात्र माग्नुहुन्छ । दोलखाको भेटेरिनरी कार्यालयका प्रमुखहरूले एक पटक प्रमाणपत्र जारी गरेबापत मसँग दुई हजार रूपैयाँसम्म माग्नुभएको छ । मैले महिनामा ७–८ टिपसम्म अण्डा काठमाडौं पठाउँनु पर्छ । प्रत्येक पालि दुई हजारका दरले मासिक १५–२० हजार रूपैयाँ सरकारी कर्मचारीलाई अण्डर टेबल दिन सकिँदैन । पैसाबिना भेटेरिनरी कार्यालयका चिकित्सकले सेवा प्रवाह नगरेको विषय जिल्ला प्रशासन कार्यालय, दोलखा र भीमेश्वर नगरपालिकामा पनि राखेका थियौं । तर अहिलेसम्म कतै सुनुवाइ भएको छैन । भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले त केही महिनापछि सरुवा भएर गइहाल्छन्, छाडिदिनुस् भनेर गैरजिम्मेवार कुरार गर्नुभयो । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । सायद यो सरकारले चाहिँ यस्ता गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउँला कि भन्ने आशा पलाएको छ ।
एउटै पेपर बनाउन त यति धेरै गाह्रो छ भने अन्य पशु चिकित्सा सम्बन्धी सेवा लिन कति कठिन होला ? सहजै अनुमान गर्न सकिन्छ । कुखुरालाई विभिन्न रोग लाग्छन् । यस्ता समस्या लिएर पशु सेवा कार्यालय गयौं भने उहाँहरूले हेर्दै हेर्नुहुन्न । किसानका समस्यामा बेमतलबी रहने तिनै पशु चिकित्सकले बाहिरबाट कोही अनुगमनमा गएको खण्डमा उल्टै ‘हामीले यस्तो बनाएका छौं’ भनेर हाम्रा फार्म देखाउन ल्याउनु हुन्छ । यस्ता दृश्य देख्दा साह्रै उदेक लागेर आउँछ ।
सारमा भन्नुपर्दा हामी किसानलाई सबैभन्दा ठूलो असहयोग नै पशु सेवा कार्यालयबाट भइरहेको छ । मलाई त यी कार्यालय पशु सेवाभन्दा पनि पशु असुविधा कार्यालय जस्तो लाग्छ । साह्रै हैरानी दिएपछि यो कुरा मैले अधिकारकर्मी, पत्रकार लगायतसँग पनि राखेको थिएँ । तर उहाँले उल्टै छलफल र पहुँचको कुरा गर्नुभयो । माथिल्लो निकायमा यसबारे गुनासो गरेको भए समाधान हुन्थ्यो होला । तर यतातिर मैले सोच्दै सोचेको छैन । फेरि फार्ममै धेरै काम हुने भएकाले यसबारे सोच्ने फुर्सद पनि छैन ।

त्यस्तै, कुखुराको दानामा पनि समस्या छ । कुखुरालाई खुवाउने दाना निकै महँगोमा खरिद गर्नुपर्छ । दानालगायत महँगो भएकैले एउटा अण्डाको लागत मूल्य १६–१७ रूपैयाँ पर्छ । तर हामीले लागत मूल्यभन्दा पनि कम रकम १४÷१५ रूपैयाँमा अण्डा बिक्री गर्नुपर्छ । अण्डा बिक्री गर्न बजारको पनि समस्या छ । किसानले किसानसँगै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । विद्यमान बजार प्रणालीका कारण किसान र उपभोक्ता दुवै मारमा छन् । अण्डा उत्पादन गर्ने किसानले एकातिर कम मूल्य पाइरहेका छन् भने अर्कातिर उपभोक्ता किसानले बिक्री गरेको मूल्यभन्दा कैयौं बढी रकममा अण्डा उपभोग गर्न बाध्य छन् । बिचौलियाको राज रहेको यो बजार प्रणाली सुधारमा सरकारले ध्यान दिए हुन्थ्यो जस्तो लाग्छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि शक्तिशाली सरकार गठन भएको छ । त्यसैले नयाँ सरकारप्रति हामी अलि बढी नै आशावादी छौं । नयाँ सरकारसँग हामी कुखुरापालक किसानका केही अपेक्षाहरू पनि छन् । ब्याज अनुदानमा हामीले पाउने ऋण म्याद अहिले ५ वर्ष छ । त्यसलाई बढाएर सरकारले कम्तीमा १० वर्ष पु¥याइदिए धेरै राम्रो हुने थियो । बाहिरबाट भित्रिने अण्डाले पनि बजारमा निकै ठूलो समस्या ल्याएको छ । भारतबाट भित्रिने अण्डाका कारण हाम्रो उत्पादनले मूल्य नपाउने, बिक्री नहुने जस्ता समस्या सामना गरिरहेका छन् । त्यसैले यहाँको उत्पादनले पुगेसम्म बाहिरबाट आउन नदिए हुन्थ्यो भन्ने लाग्छ । यो काम राज्यले आफ्ना संयन्त्रमार्फत अनुगमन गरेर गर्न सक्छ । अझै राम्रो त सरकारले हाम्रा फार्मका अण्डा ब्राण्डिङ गरेर आफैं किनिदिए हुन्थ्यो ।

कुखुरा फार्म सञ्चालन गर्न निकै कडा मिहिनेत गर्नुपर्छ । नखटेसम्म यहाँ केही हुँदैन । त्यसैले सरकारी निकायबाट लिनुपर्ने सेवा सहज ढंगले प्रवाह भइदिए हुन्थ्यो भन्ने लाग्छ । सकेसम्म टेलिफोनबाटै यस्ता भइदिए राम्रो हुन्थ्यो । सरकारले निःशुल्क प्रवाह गर्ने सेवाका लागि कर्मचारीलाई घुस खुवाउनु पर्ने अवस्था रहेकाले त्यो हटोस् ।

कुखुरापालन प्राविधिक विषय हो । यसका लागि धेरै ज्ञान, सीप आवश्यक पर्छ । मैले त धेरै कुरा आफैं सिकेर जानेको छु । कतिपय किसानमा कुखुरापालनका प्राविधिक ज्ञान पाइँदैनन् । किसान र कृषिक्षेत्रको उत्पादकत्व बढाउन राज्यले प्राविधिक ज्ञान वितरणमा ध्यान दिनुपर्छ जस्तो लाग्छ । नगरपालिकामा पनि पशु चिकित्सकको व्यवस्था गरिएको हुन्छ । तर मैले अहिलेसम्म त्यहाँका पशु चिकित्सकबाट एउटा पनि सेवा पाएको छैन । क्वारेन्टाइन प्रमाणपत्रका लागि फोन गर्दा जहिले पनि त्यहाँ रहेका चिकित्सकले मिटिङमा छु भनेको सुनिन्छ । कार्यालयमा पनि कहिल्यै भेटिनुहुन्न । नगरपालिकाले पशु चिकित्सक राख्दा मिटिङ गर्न मात्र राख्छन् कि के हो ? मैले बुझ्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *