आज काग तिहार, यमपञ्चक सुरु

काठमाडौं। यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व आजदेखि औपचारिक रूपमा सुरु भएको छ। तिहारको पहिलो दिन आज यमराजको दूतका रूपमा मानिने कागको पूजा आराधना गरी काग तिहार मनाइँदै छ। तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा भने एकैदिन परेको छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्रयोदशी तिथि र सूर्योदयको संयोगका आधारमा आज काग तिहार मनाइएको हो। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउने विधान छ। त्यसैगरी, त्रयोदशी तिथि परेको साँझ यमदीप दान गर्ने परम्परा छ। सोही विधानअनुसार गत शुक्रबार नै यमदीप दान गरिएको उनले जानकारी दिए।

तिथिको घटबढ र खगोलीय गणितीय गणनाका कारण यस वर्ष तिहारका केही पर्वको तिथि तथा दिनमा परिवर्तन आएको समितिले जनाएको छ। आजै भगवान् धनवन्तरीको जन्मजयन्ती अर्थात् धनवन्तरी जयन्ती पनि परेको छ।

यस वर्ष आगामी कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। तिथिको फेरबदलका कारण तिहारको परम्परागत पर्व तालिकामा परिवर्तन आएको हो।

यमपञ्चकमा काग, कुकुर, गाई, गोरु र भाइटीकाका साथै धनतेरस, लक्ष्मीपूजा र गोवर्धन पूजासहितका पर्व धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाइन्छन्। यमपञ्चकका अवसरमा मृत्युका देवता यमराजको पूजा, दीपदान तथा विभिन्न पशुपन्छीप्रति सम्मान प्रकट गर्ने परम्परा रहिआएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *