कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ
काठमाडौँ — बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेर निर्दयी व्यवहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेकी छन्।
पानकोट पुलको पश्चिम किनाराको रेलिङ मुनिबाट कुकुरलाई सेती नदीमा धकेलेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो। पशुपन्छीप्रति क्रूर तथा निर्दयी व्यवहार गरिएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी विरोध भएपछि जिल्ला प्रहरी कार्यालय बझाङले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा भिडियोमा देखिएकी महिला रोकाया नै भएको पहिचान भएपछि प्रहरी टोलीले उनलाई २०८३ असोज १ गते बेलुकी नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी रोकायामाथि मुलुकी अपराध संहिताअनुसार पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
