बाढी प्रभावित क्षेत्रमा एनभिएको तेस्रो चरणको राहत तथा स्वास्थ्य सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) ले तेस्रो चरणको राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ।

एशोसिएसनको ९ सदस्यीय टोलीले २०८३ भदौ २९ देखि ३१ गतेसम्म प्रभावित क्षेत्रमा पुगेर पशुपन्छीका लागि औषधि, फिड सप्लिमेन्ट तथा आवश्यक उपकरण हस्तान्तरण गर्नुका साथै स्थलगत अनुगमन गरेको हो। टोलीले बाढीबाट पशुधनमा भएको क्षति, उद्धार तथा उपचारको अवस्था र बाढीपछि पशुपन्छीमा फैलिन सक्ने सङ्क्रामक रोगको जोखिमबारे समेत जानकारी संकलन गरेको एशोसिएसनले जनाएको छ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीको नेतृत्वमा महासचिव डा. शंकर न्यौपाने, पूर्वअध्यक्ष डा. शीतल काजी श्रेष्ठ, सचिव डा. विशाल पोख्रेल, कोषाध्यक्ष डा. विकास श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य डा. राकेश चन्दसहितको टोलीले रसुवाको गोसाइँकुण्ड, कालिका, उत्तरगया र नौकुण्ड, धादिङको गल्छी–देवीघाट तथा नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रमा स्थलगत अनुगमन तथा सहयोग गरेको थियो। कार्यक्रममा म्याजिक मार्बल फाउन्डेसन नेपालको समेत सहभागिता रहेको थियो।

पशुधनमा ठूलो क्षति

एशोसिएसनले पुनः संकलन गरेको प्रारम्भिक विवरणअनुसार रसुवा र नुवाकोट क्षेत्रमा मात्रै बाढीका कारण करिब ६०० भैँसी, १० हजार सुँगुर तथा बंगुर र करिब २ लाख व्यावसायिक फार्मका कुखुरा नष्ट भएका छन्।

पशुधनमा भएको ठूलो क्षतिले प्रभावित कृषकको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको एशोसिएसनले जनाएको छ। बाढीका कारण पशुपन्छी तथा तिनमा आधारित व्यवसायमा पुगेको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको जनाइएको छ।

बाढीपीडित पशु चिकित्सकलाई आर्थिक सहयोग

बाढीका कारण घरबारविहीन भएका एशोसिएसनका सदस्य डा. सुदिप कोइराला र डा. तुल्सिराम गम्पोका परिवारलाई एशोसिएसनका तर्फबाट प्रतिपरिवार १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

सोही अवसरमा एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीले व्यक्तिगततर्फबाट समेत दुवै सदस्यलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ सहयोग गरेका थिए।

पशुधन पुनर्स्थापनामा दीर्घकालीन कार्यक्रम आवश्यक

बाढीले कृषकको प्रमुख आर्थिक आधारका रूपमा रहेको पशुधनमा ठूलो क्षति पुर्‍याएकाले तत्काल राहतसँगै पशुधन पुनर्स्थापना, रोग नियन्त्रण, पशु स्वास्थ्य सुरक्षा र जीविकोपार्जन पुनर्स्थापनाका दीर्घकालीन कार्यक्रम सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायलाई एशोसिएसनले आग्रह गरेको छ।

अध्यक्ष डा. सुवेदीले विपद्पछिको अवस्थामा पशुपन्छीमा रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य निगरानी, उपचार तथा रोग नियन्त्रणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।

एशोसिएसनले विपद्का समयमा उद्धार, उपचार तथा राहतमा खटिएका पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, स्थानीय तह, विभिन्न सङ्घसंस्था तथा स्वयंसेवकलाई धन्यवाद व्यक्त गरेको छ।

एनभिएले बाढी आएको सुरुदेखि नै कान्तिपुर भेट डिष्ट्रिब्युटर्स, कान्तिपुर फार्मास्युटिकल्स, तिलिचो ट्रेडिङ, सेफ भेट फार्मा, बीएमबी भेटेरिनरी हस्पिटल तथा म्याजिक मार्बल फाउन्डेसन नेपालको सहकार्यमा प्रभावित क्षेत्रमा राहत, पशु स्वास्थ्य सेवा तथा आवश्यक सामग्री सहयोग गर्दै आएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *