पोखरामा ‘राइट टु प्रोटिन रन’ हुँदै, ४ हजारभन्दा बढी सहभागी हुने
काठमाडौँ । प्रोटिनको महत्त्व, पोषण, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ। नेपाल दाना उद्योग संघको आयोजनामा आगामी असोज ३ गते पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कमा उक्त दौड आयोजना गर्न लागिएको हो।

संघका अनुसार संयुक्त राज्य अमेरिका, भारत, चीन, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इङ्गल्यान्ड लगायत देशबाट समेत गरी ४ हजार १०६ भन्दा बढीको सहभागिता सुनिश्चित भइसकेको छ। कार्यक्रमको मुख्य प्रायोजक ‘युएस सोयाबिन एक्सपोर्ट काउन्सिल’ रहेको छ भने नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ।
संघले नेपालमा प्रतिव्यक्ति दैनिक प्रोटिन उपलब्धता औसतमा करिब ४६ ग्राम रहेको अनुमान गर्दै प्रोटिनको मात्रा, गुणस्तर र उपलब्धताबारे पर्याप्त जनचेतना आवश्यक रहेको जनाएको छ। सन् २०१९ देखि सञ्चालन हुँदै आएको यस अभियानमार्फत पोषणसम्बन्धी जानकारीलाई सभा-सम्मेलनमा मात्र सीमित नराखी दौड, खेलकुद र सार्वजनिक सहभागितामार्फत समुदायस्तरसम्म पुर्याउने प्रयास भइरहेको संघको भनाइ छ।

यस वर्षको कार्यक्रममा अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनिर, दाल तथा गेडागुडीजस्ता सहज र गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ। कार्यक्रमले शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै नयाँ धावकहरूलाई अवसर प्रदान गर्नेछ। साथै, पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दौडमा हाफ म्याराथन (पुरुष तथा महिला २१–२१ किमी), खुला दौड (पुरुष १० किमी र महिला ५ किमी), कक्षा १२ सम्मका विद्यार्थी/युवा (पुरुष ५ किमी र महिला ३ किमी) तथा ह्विलचेयरतर्फ (पुरुष र महिला ३–३ किमी) का विधा रहनेछन्। प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमका सहभागीहरूलाई टी-सर्ट तथा प्रोटिनयुक्त खाजाको व्यवस्था गरिएको छ। साथै, लायन्स क्लबको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिने, सबै सहभागीको बीमा गरिने, २०० जना स्वयंसेवक परिचालन हुने, १० वटा हाइड्रेसन स्टेसन र सातवटा एम्बुलेन्ससहित सुरक्षा व्यवस्था मिलाइएको छ।
यसैबीच, भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावितको पुनर्स्थापनाका लागि नेपाल दाना उद्योग संघका सदस्य उद्योगहरूले तत्कालै ३ करोड १७ लाख ८४ हजार ७ सय १ रुपैयाँ सहयोग उपलब्ध गराएपछि थप ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको संघले जनाएको छ।

दौड बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौकससम्म पुगेर पुनः सोही मार्गबाट बसुन्धरा पार्कमै फर्किएर सम्पन्न हुनेछ। कार्यक्रम असोज ३ गते शनिबार हुनेछ भने टी-सर्ट तथा किट वितरण भदौ ३१ र असोज १ गते पोखरा इभेन्ट सेन्टरमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म गरिनेछ।
यसैबीच, नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) ले ‘राइट टु प्रोटिन रन’ पाँचौँ संस्करण नामप्रति आपत्ति जनाउँदै यसपटकको प्रतियोगितामा संस्थागत सहभागिता नजनाउने जनाएको छ। एनभिएका अध्यक्ष डा. केदार सुबेदीले एनभिएले विगत चार संस्करणदेखि ‘राइट टु प्रोटिन रन’ आयोजना गर्दै आएको र पाँचौँ संस्करण आगामी पुस–माघमा आयोजना गर्ने तयारी भइरहेको बताएका छन्।
