‘राइट टु प्रोटिन रन’को तयारी पूरा, भोलि बिहान ६ बजे दौड सुरु
पोखरा । प्रोटिनको महत्त्व, पोषण, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘राइट टु प्रोटिन रन २०२६’ को तयारी पूरा भएको छ। नेपाल दाना उद्योग संघको आयोजनामा शनिबार पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट बिहान ६ बजे दौड सुरु हुनेछ।
आयोजकका अनुसार नेपालसहित संयुक्त राज्य अमेरिका, भारत, चीन, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इङ्गल्यान्डलगायत देशबाट ४ हजार १०६ भन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। कार्यक्रमको मुख्य प्रायोजक ‘युएस सोयाबिन एक्सपोर्ट काउन्सिल’ रहेको छ भने नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ।
दौडको उद्घाटन पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले गर्ने भएका छन्। प्रतियोगिताको समापन गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नन्दप्रसाद न्यौपानेले गर्ने कार्यक्रम तय भएको आयोजक नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले जानकारी दिए।
संघले नेपालमा प्रतिव्यक्ति दैनिक प्रोटिन उपलब्धता औसतमा करिब ४६ ग्राम रहेको अनुमान गर्दै प्रोटिनको मात्रा, गुणस्तर र उपलब्धताबारे पर्याप्त जनचेतना आवश्यक रहेको जनाएको छ। सन् २०१९ देखि सञ्चालन हुँदै आएको अभियानमार्फत पोषणसम्बन्धी जानकारीलाई सभा–सम्मेलनमा मात्र सीमित नराखी दौड, खेलकुद र सार्वजनिक सहभागितामार्फत समुदायस्तरसम्म पुर्याउने प्रयास भइरहेको संघको भनाइ छ।
यस वर्षको कार्यक्रममा अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनिर, दाल तथा गेडागुडीजस्ता सहज र गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ। कार्यक्रमले शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै नयाँ धावकलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवर्धन गर्नसमेत कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा हाफ म्याराथनतर्फ पुरुष र महिलाका लागि २१–२१ किलोमिटर, खुला दौडतर्फ पुरुषका लागि १० र महिलाका लागि ५ किलोमिटर तथा कक्षा १२ सम्मका विद्यार्थी तथा युवातर्फ पुरुषका लागि ५ र महिलाका लागि ३ किलोमिटरको दौड हुनेछ। ह्विलचेयरतर्फ पुरुष र महिलाका लागि ३–३ किलोमिटरको विधा राखिएको छ। प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
दौडमा सहभागीलाई टी–सर्ट तथा प्रोटिनयुक्त खाजाको व्यवस्था गरिएको छ। लायन्स क्लबको सहयोगमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिनेछ। सबै सहभागीको बीमा गरिनेछ भने २०० जना स्वयंसेवक परिचालन हुनेछन्। प्रतियोगिताका क्रममा १० वटा हाइड्रेसन स्टेसन र सातवटा एम्बुलेन्ससहित सुरक्षा व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
दौड बसुन्धरा पार्कबाट सुरु भएर हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौकससम्म पुग्नेछ। त्यसपछि सोही मार्ग हुँदै बसुन्धरा पार्कमै फर्किएर दौड सम्पन्न हुनेछ।
आयोजक नेपाल दाना उद्योग संघले प्रतियोगितामा सहभागी हुने सबैलाई बिहान ६ बजे सुरु हुने दौडका लागि निर्धारित समयमै उपस्थित भई कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरेको छ।
