सरकारको नीति तथा कार्यक्रम : कृषि तथा पशुपन्छी पालनलाई प्राथमिकता, राेजगारी वृद्धि र खाद्य सुरक्षाकाे लक्ष्य
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तयार पारेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीको सन्दर्भमा आएको बजेटले पहिलो प्राथमिकता भने स्वास्थ्य क्षेत्रलाई दिएको छ ।
कोभिड–१९ को महामारीले विश्वकै अर्थतन्त्रमा मन्दी छाएको बेला आर्थिक वर्षका लागि सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषिलाई प्राथमिकतामा राखेको हो । कृषि तथा पशुपालन क्षेत्रले हाल विश्वका विभिन्न देशमा रोजगारी कटौतीमा परेका नेपाली युवालाई रोजगारी समेत दिने सकिने सरकारको अपेक्षा छ । त्यस्तै कृषिजन्य तथा पशुपन्छी जन्य उत्पादनमा नेपाल आत्मनिर्भर हुने र खाद्य सुरक्षा समेत वृद्धि हुने सरकारको अपेक्षा छ ।
सरकारको नीतिले कृषियोग्य भूमिको पूर्ण उपयोग गर्ने, जमिन बाँझो नराख्ने, सघन खेती प्रणालीका माध्यमबाट ठूलो परिमाणमा कृषि उत्पादन गर्ने, रासायनिक मल, उन्नत बिउ आपूर्ति गर्ने नीति लिएको छ । सिँचाई सुविधा विस्तार गर्ने, धान, गहुँ, मकै जस्ता प्रमुख खाद्यबाली र तरकारी, आलुलगायत प्रमुख तरकारी उत्पादनमा समेत आत्म निर्भरता वृद्धि गर्ने नीति सरकारको छ ।
कृषिलाई रोजगारीको प्रमुख क्षेत्रको रुपमा विकास गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनःसंरचना गरी कृषि क्षेत्रको रुपमान्तरणको प्रमुख कार्यक्रमको रुपमा विस्तार गर्ने नीति लिएको छ ।
त्यसैगरी सबै प्रदेशमा एग्रिकल्चर तथा लाइभस्टक एक्सिलेन्ट सेन्टर विकास गरी कृषि तथा पशुपन्छी पालनको व्यवहारिक अनुसन्धान र सीप हस्तान्तरण गर्ने नीति लिएको छ । कृषिलाई आयमूलक, आधुनिक र मर्यादित तथा उत्पादनशील व्यवसायको रुपमा विकास गर्ने, महिला सहकारी समूह तथा अर्ध बेरोजगार र विदेशबाट फर्किएका युवालाई आकर्षित गर्ने नीति छ ।
सडक, विद्युत् सिँचाई, शीतभन्डार, संकलन तथा बिक्री केन्द्र जस्ता कृषि पूर्वाधारको विकास र विस्तार गर्ने, कृषकलाई अनुदान उपलब्ध गराउने, अग्र्यानिक उत्पादन बढाउने, सडक तथा नदी किनारा, खेतका आली, नदी उकास जमिन र कौसी, करेसा सबैतिर खेति विस्तार गर्ने नीति लिइएको छ ।
दूध प्रशोधन कारखाना स्थापना गरिने
नेपाल कुखुराको अण्डा तथा मासुमा आत्मनिर्भर भएको र दूध मासु र माछामा आत्मनिर्भर हुनै लागेको भन्दै दूग्ध उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ ।
यसका लागि दूग्ध प्रशोधन केन्द्रहरु स्थापना गर्ने लक्ष्य लिएको छ । नश्ल सुधार, पोषणयुक्त पशु आहारा उत्पादन, घाँस खेती बढाउने नीति छ । त्यस्तै, हिमाली क्षेत्रमा चौँरी, भेँडा, च्याङ्ग्रा उत्पादन बढाउने, पहाड तथा तराईमा गाई, भैंसी, बाख्रा, बङ्गुर, कुखुरा पालन बढाई दूध, मासु, अण्डा र उनको उत्पादन बढाउने लक्ष्य लिएको छ ।
पशु रोगविरुद्ध खोप कार्यक्रमको विस्तार, क्वारेन्टाइनहरुको विस्तार, प्रयोगशालाको विस्तार जस्ता नीति समेत लिएको छ।
हेर्नुहोस् नीति कार्यक्रमको पूर्ण पाठ