पशु चिकित्सा परिषद्को सूचना ‘विवेकहीनताको पराकाष्ठा’ : मेहता

काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्ले अनधिकृत रूपमा पशुमा शल्यक्रिया गर्ने तथा भेटेरिनरी प्रमाणपत्र जारी गर्ने व्यक्तिविरुद्ध कारबाही सिफारिस गर्दै सार्वजनिक गरेको सूचनामाथि नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का पदाधिकारीहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले पर्याप्त तथ्य र प्रमाणबिना हचुवाका भरमा सूचना सार्वजनिक गरिएको, सम्बन्धित पक्षसँग समन्वय नगरी निर्णय गरिएको तथा परिषद्ले आफ्नो कानुनी अधिकार क्षेत्रसमेत मिचेको आरोप लगाएका छन्। यता, नेपाल पशु चिकित्सा परिषद्ले भने प्रक्रियागत रूपमा केही त्रुटि भएको हुन सक्ने स्वीकार गर्दै दुवै परिषद्बीच छलफल गरी विषय टुंग्याउने जनाएको छ।

नेपाल पशु चिकित्सा परिषद्ले असार १६ गते जारी तीन छुट्टाछुट्टै सूचनामार्फत मोरङको लेटाङ नगरपालिका निवासी लेखनाथ भट्टराईले आफूलाई पशु चिकित्सकका रूपमा प्रस्तुत गर्दै बिरालोको शल्यक्रिया गरेको, अर्को एक घटनामा कुकुरको अवैध शल्यक्रिया गरिएको तथा कालिका गाउँपालिकाका सहायक पशु विकास अधिकृत बुद्धिनाथ न्यौपानेले अधिकारबाहिर गई भेटेरिनरी प्रमाणपत्र जारी गरेको भन्दै सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो।

तर, उक्त सूचनापछि नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का रजिष्ट्रार जनकबहादुर रावलले परिषद्ले पर्याप्त तथ्य र प्रमाण संकलन नगरी हचुवाका भरमा सूचना सार्वजनिक गरेको दाबी गरे। उनका अनुसार लेटाङ नगरपालिकामा भएको बिरालोको शल्यक्रियासम्बन्धी घटनामा वास्तविक अवस्था नबुझी र सम्बन्धित निकायसँग आवश्यक समन्वय नगरी कारबाही सिफारिस गरिएको हो।

रावलले उक्त विषय नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को सोमबार बस्ने पूर्ण बैठकमा औपचारिक रूपमा छलफल हुने जानकारी दिए। बैठकले घटनाको कानुनी, प्राविधिक तथा प्रशासनिक पक्षको समीक्षा गरी आवश्यक निर्णय लिने उनले बताए।

उनका अनुसार नेपाल पशु चिकित्सा परिषद्को भूमिका आफ्ना सदस्य अर्थात् परिषद्मा दर्ता भएका पशु चिकित्सकको दर्ता, आचारसंहिता तथा नियमनसम्म सीमित छ। कुनै घटना देखिएमा सम्बन्धित निकाय वा तालुक मन्त्रालयलाई जानकारी गराउन सक्ने भए पनि प्रत्यक्ष रूपमा कारबाही सिफारिस गर्दै सार्वजनिक सूचना जारी गर्नु परिषद्को अधिकार क्षेत्रभित्र नपर्ने उनको तर्क छ।

उनले तथ्य पुष्टि नगरी सार्वजनिक सूचना जारी गर्दा सम्बन्धित व्यक्तिको प्रतिष्ठामा समेत असर पर्ने भएकाले यस्ता विषयमा परिषद्ले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए। उनका अनुसार कुनै पनि निकायले सार्वजनिक रूपमा आरोप लगाउनुअघि सम्बन्धित पक्षसँग समन्वय गरी तथ्यगत अनुसन्धान पूरा गर्नु आवश्यक हुन्छ।

यसैबीच नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का उपाध्यक्ष एवं प्रवक्ता तथा नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले पनि पशु चिकित्सा परिषद्को निर्णयप्रति आपत्ति जनाएका छन्। उनले परिषद्ले आफ्नो बैठकको निर्णयको हवाला दिँदै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई बदनाम गर्ने नियतले सूचना सार्वजनिक गरेको आरोप लगाए।

मेहताले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै विषयवस्तुको गहिरो अध्ययन नगरी सामान्य विवेकसमेत प्रयोग नगरी सूचना सार्वजनिक गर्नु “विवेकहीनताको पराकाष्ठा” भएको टिप्पणी गरे। उनले कुन योग्यता भएको जनशक्तिलाई कुन परिषद्ले दर्ता, नियमन र कारबाही गर्ने भन्ने विषय प्रचलित कानुनमै स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै सम्बन्धित परिषद्लाई आफ्ना सदस्यको नियमन गर्ने अधिकार हुँदाहुँदै अर्को परिषद्ले अधिकार क्षेत्रभन्दा बाहिर गएर सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या हुने गरी सूचना प्रकाशन गर्नु गैरजिम्मेवार कार्य भएको बताए।

“हामी यस घटनालाई अत्यन्त गम्भीर रूपमा लिएका छौं,” मेहताले भने, “पदाधिकारीहरूले आवेशमा होइन, कानुन, तथ्य र व्यावसायिक मर्यादाका आधारमा निर्णय लिनुपर्छ। गलत अफवाहका पछि नलाग्न र कुनै पनि पेशागत समूहलाई अनावश्यक रूपमा बदनाम नगर्न हामी सबै सरोकारवालासँग आग्रह गर्दछौं।”

यता, परिषद्को सूचनापछि लेटाङ नगरपालिकाको पशु सेवा शाखाले पनि स्पष्टीकरण जारी गर्दै परिषद्को सूचनामा उल्लेख गरिएजस्तो दर्ता नभएको व्यक्तिले बिरालोको शल्यक्रिया नगरेको दाबी गरेको छ। शाखाका अनुसार उक्त शल्यक्रिया २०८३ जेठ ५ गते सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरका क्रममा शाखामा कार्यरत पशु चिकित्सक डा. जेनी लावतीसहितको टोलीले गरेको हो।

नगरपालिकाले शल्यक्रियापछि प्राविधिक लेखनाथ भट्टराईले सामाजिक सञ्जालमार्फत लेटाङ नगरपालिकामा शल्यक्रिया सेवा उपलब्ध रहेको जानकारी दिने क्रममा भ्रम सिर्जना हुने गरी सन्देश प्रवाह भएको स्वीकार गर्दै त्यसप्रति क्षमायाचना गरेको छ। साथै, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्ने वा त्यस्ता गतिविधिलाई प्रोत्साहन गर्ने नीति नरहेको र घटनाबारे थप अनुसन्धान तथा नियमन गरिने जनाएको छ।

यस विषयमा प्रतिक्रिया माग्दा नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा. हेमराज अवस्थीले आफू र परिषद्का उपाध्यक्ष शैक्षिक संस्थाको अनुगमनका सिलसिलामा चितवनमा रहेकाले तत्काल विस्तृत प्रतिक्रिया दिन नसक्ने बताए। उनले काठमाडौं फर्किएलगत्तै भोलि नै दुवै परिषद्का पदाधिकारीबीच छलफल गरी विषय टुंग्याइने जानकारी दिए।

अध्यक्ष अवस्थीले परिषद्बाट प्रक्रियागत रूपमा केही त्रुटि भएको हुन सक्ने स्वीकार गर्दै त्यसबारे पनि छलफल गरिने बताए। “पेशागत रूपमा भएका कमजोरी भए सच्याउनुपर्छ। दुवै परिषद् बसेर तथ्यका आधारमा आवश्यक निर्णय गर्छौं,” उनले भने।

नेपाल पशु चिकित्सा परिषद्की रजिष्ट्रार डा. चन्दा श्रेष्ठले पनि यस विषयमा बैठकमा आवश्यक छलफल गरी निर्णय गरिने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *