भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख अख्तियारको नियन्त्रणमा
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा छापा मारेको छ।
छापा मार्ने क्रममा अख्तियारको टोलीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका कार्यालय प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ।
पशुचौपाया तथा बाख्रामा लगाइने महामारीजन्य रोगविरुद्धको पीपीआर (PPR) खोप कार्यक्रमका लागि नियुक्त भ्याक्सिनेटरहरूसँग भुक्तानी गरिदिने नाममा प्रति भ्याक्सिनेटर २० देखि २५ प्रतिशतसम्म घुस मागिएको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीले भ्याक्सिनेटरहरूलाई खोप लगाएबापत प्रति बाख्रा ५ रुपैयाँ र अन्य पशुचौपायाका लागि १० रुपैयाँका दरले भुक्तानी गर्दै आएको छ।
कार्यालय प्रमुख दासले भ्याक्सिनेटरहरूसँग घुस रकम माग्न सवारी चालक यादवमार्फत पटक–पटक फोन गर्न लगाउने गरेको आरोप छ। उनीहरूलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो।
