भोटेकोशी बाढीमा एनभिएको विशेष टोली परिचालन
काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोशी नदीको बाढीले पशुपन्छी, मत्स्यपालन तथा जनधनमा ठूलो क्षति पुर्याएपछि पशु स्वास्थ्य क्षेत्रका व्यावसायिक संघ–संस्था तथा औषधि उत्पादकहरू राहत तथा उद्धारमा जुटेका छन्।
नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले बाढी प्रभावित क्षेत्रमा पशुपन्छी तथा मत्स्य (माछा) क्षेत्रमा भएको क्षतिलाई मध्यनजर गर्दै तत्काल पशु चिकित्सकसहितको विशेष टोली परिचालन गर्ने जनाएको छ।
एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी र महासचिव डा. शंकर न्यौपानेद्वारा जारी अपिलमा प्रभावित क्षेत्रमा पशु उद्धार, उपचार, रोग नियन्त्रण, खोप, औषधि व्यवस्थापन, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा पुनःस्थापनाका लागि सरकारी निकाय र सरोकारवालासँग समन्वय गरी एकताबद्ध रूपमा खटिन अपिल गरिएको छ।
यसैगरी, सिटीजन फार्मास्युटिकल्स प्रा. लि. (नवलपरासी) र कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा. लि. ले बाढी प्रभावित क्षेत्रका पशुपन्छीको उपचारका लागि आवश्यक प्राथमिक उपचारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।
त्यस्तै, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र एनिमल नेपालले पनि आफ्ना जिल्ला तथा प्रदेश शाखामार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा औषधि वितरणका लागि स्थानीय प्रशासन र पशु सेवा अस्पतालसँग समन्वय गरी काम अघि बढाएका छन्।
