भोटेकोशी बाढीपीडित पशुपन्छीको उद्धार र राहतमा जुट्न संघ–संस्थाको अपिल
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनसँगै पशुपन्छीमा समेत गम्भीर क्षति पुर्याएपछि पशुपन्छी क्षेत्रसँग सम्बद्ध संघ–संस्थाहरूले उद्धार तथा राहतका लागि अपिल गरेका छन्।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ ले विज्ञप्ति जारी गर्दै बाढीबाट नदी किनारका बस्ती, पुल, भौतिक संरचना तथा चौपायामा ठूलो क्षति पुगेकोप्रति दुःख व्यक्त गरेको छ।
संघका अध्यक्ष रितेश रिमाल र महासचिव साधुराम ढकालद्वारा हस्ताक्षरित अपिलमा बाढीबाट घाइते भएकाहरूको तत्काल उद्धार तथा उपचार गर्न र बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन राज्य, स्थानीय तह तथा सबै संघ–संस्थालाई आग्रह गरिएको छ।
संघले प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा पशुपन्छीको सहयोगमा परिचालित हुन आफ्ना सबै प्रदेश तथा जिल्ला शाखालाई समेत निर्देशन दिएको जनाएको छ।
यसैगरी, एनिमल नेपालले पनि बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। संस्थाका अनुसार जिल्ला पशु सेवा अस्पताल, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी प्रभावित पशुपन्छीको अवस्था र आवश्यकताको पहिचान भइरहेको छ।
सडक पहुँच तथा परिस्थितिअनुकूल हुनेबित्तिकै प्रभावित क्षेत्रमा पशु कल्याण तथा आवश्यक राहत सामग्री परिचालन गरिने संस्थाले जनाएको छ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै दुवै संस्थाले सर्वसाधारणलाई नदीको बहाव क्षेत्रभन्दा टाढा सुरक्षित स्थानमा रहन तथा जोखिमपूर्ण क्षेत्रमा नजान अपिल गरेका छन्।
