बाढीबाट प्रभावित पशुपन्छीका लागि कान्तिपुर भेटले निःशुल्क औषधी दिने
काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीबाट पशुपन्छी तथा पोल्ट्री फार्ममा ठूलो क्षति पुगेपछि कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि. ले प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधी उपलब्ध गराउने घोषणा गरेको छ।
बाढीका कारण नदी किनारका क्षेत्रमा ठूलो संख्यामा कुखुरा तथा अन्य पशुपन्छी बगेका छन्। बाढीबाट जोगिएका पशुपन्छीमा समेत विभिन्न स्वास्थ्य समस्या तथा रोगको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले आवश्यक प्राथमिक उपचारका औषधी निःशुल्क उपलब्ध गराउने जनाएको हो।
कम्पनीका अनुसार औषधी वास्तविक प्रभावित पशुपालक तथा कृषकसम्म पुर्याउन सम्बन्धित जिल्ला पशु सेवा कार्यालय, स्थानीय तहका पशु सेवा शाखा तथा अन्य सरकारी निकायसँग समन्वय र सिफारिस गरिनेछ।
बाढीबाट प्रभावित पशुपन्छीको जीवनरक्षा तथा स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले राहतस्वरूप औषधी उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।
यस मानवीय पहललाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि कम्पनीले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, पशु स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालासँग अपिल गरेको छ।
