डिडिसीको घिउ मध्यपूर्वमा निर्यात सुरु, जापान र दक्षिण कोरियामा पनि पठाइने
काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले पहिलोपटक मध्यपूर्वमा घिउ निर्यात सुरु गरेको छ। डिडिसीले शुक्रबार दुबईका लागि पाँच सय किलो घिउ निर्यात गरेको संस्थानका महाप्रबन्धक डा. शरण पाण्डेले जानकारी दिए।
महाप्रबन्धक पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डिडिसीको घिउ निर्यात गर्ने गरी निजी क्षेत्रसँग सम्झौता भइसकेको छ। “शुक्रबार पहिलो चरणमा दुबईका लागि पाँच सय किलो घिउ निर्यात भएको हो,” उनले भने।
डिडिसीले वार्षिक ५० हजार किलो घिउ निर्यात गर्ने गरी सम्झौता गरेको छ। उत्पादन क्षमता कम भएकाले पहिलो वर्ष ५० टन निर्यात गर्ने लक्ष्य राखिएको पाण्डेले बताए। उत्पादन बढ्दै गएसँगै विदेशमा निर्यात हुने घिउको परिमाणसमेत वृद्धि गरिने उनको भनाइ छ।
डिडिसीले जापान र दक्षिण कोरियामा समेत घिउ निर्यातको तयारी अघि बढाएको छ। ती देशमा घिउको बजारीकरणका लागि स्थानीय बिक्रेता नियुक्तिलगायतका काम सम्पन्न भइसकेको र आवश्यक प्रमाणीकरणको प्रक्रिया पूरा भएपछि निर्यात सुरु गरिने पाण्डेले बताए।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि डिडिसीको कारोबारमा वृद्धि भएको संस्थानले जनाएको छ। कारोबार बढेसँगै दुग्ध किसानको बक्यौता भुक्तानीमा समेत उल्लेख्य प्रगति भएको डिडिसीको भनाइ छ।
