मकवानपुरमा गाईमा रेबिज पुष्टि

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–९ शिखरपुरमा एक गाईमा रेबिज संक्रमण पुष्टि भएपछि स्थानीय तहले रोग नियन्त्रण, निगरानी तथा जनचेतनामूलक अभियानलाई तीव्र बनाएको छ। पशुबाट मानिसमा समेत सर्न सक्ने रेबिज शतप्रतिशत घातक रोग भएकाले जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाइएको गाउँपालिकाले जनाएको छ।

शिखरपुरका एक किसानले पालेको गाईमा अचानक स्वभाव परिवर्तन हुने, अत्यधिक आक्रामक बन्ने, अस्वाभाविक रूपमा कराउने र मुखबाट निरन्तर र्‍याल काड्ने जस्ता लक्षण देखिएपछि उपचार गरिएको थियो। उपचारकै क्रममा गाईको मृत्यु भएपछि घटनाबारे जानकारी पाएलगत्तै बकैया गाउँपालिकाको पशुपन्छी शाखाका प्रमुख एवं पशु चिकित्सक डा. अविनाश ठाकुरको नेतृत्वमा प्राविधिक टोली घटनास्थल पुगेको थियो।

प्राविधिक टोलीले घटनास्थलको निरीक्षण तथा जोखिम मूल्याङ्कन गर्नुका साथै र्‍यापिड टेस्ट किटमार्फत प्रारम्भिक परीक्षण गर्दा रेबिज पोजेटिभ देखिएको थियो। आधिकारिक पुष्टि गर्न साउन २९ गते नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएकोमा भदौ ३ गते प्राप्त अन्तिम परीक्षण रिपोर्टले समेत रेबिज संक्रमण पुष्टि गरेको डा. ठाकुरले जानकारी दिए।

रेबिज पुष्टि भएपछि पशुपन्छी शाखाले सम्भावित जोखिममा रहेका किसानलाई गाउँपालिकामा बोलाएर रोगको प्रकृति, संक्रमणको जोखिम तथा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएको छ। गाउँपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरी जोखिममा रहेका मानिसका लागि रेबिजविरुद्धको पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस (पीईपी) खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

पशुपन्छी शाखाका अनुसार रेबिज संक्रमित पशुमा सुरुमा स्वभावमा अचानक परिवर्तन आउने, असामान्य रूपमा उत्तेजित तथा आक्रामक बन्ने, मानिस वा अन्य पशुलाई टोक्न खोज्ने, लगातार कराउने र टोलाउने जस्ता लक्षण देखिन सक्छन्। रोग बढ्दै जाँदा मुखबाट अत्यधिक र्‍याल आउने, पानी तथा घाँस–दाना निल्न नसक्ने, घाँटी र बङ्गारा कमजोर हुने, पछाडिका खुट्टा लुला हुने, पक्षघात हुने र अन्ततः पशुको मृत्यु हुने गर्छ।

रेबिजका लक्षण देखिइसकेपछि प्रभावकारी उपचार सम्भव नहुने भएकाले रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय समयमै खोप लगाउनु र जोखिममा परेकालाई तत्काल पीईपी सेवा उपलब्ध गराउनु रहेको पशु चिकित्सकहरूको भनाइ छ।

शाखाले घरपालुवा गाईवस्तु तथा अन्य पशुलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउन किसानलाई आग्रह गरेको छ। शंकास्पद पशुले टोकेमा, कोरेमा वा त्यस्तो पशुको र्‍याल घाउमा परेमा ढिलाइ नगरी घाउलाई साबुन र बगिरहेको सफा पानीले कम्तीमा १० देखि १५ मिनेटसम्म राम्ररी पखालेर तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।

त्यस्तै, असामान्य व्यवहार देखाउने पशुको नजिक नजान, आफैँले बाँध्ने वा समात्ने प्रयास नगर्न तथा घरेलु उपचारमा समय नबिताउन शाखाले अनुरोध गरेको छ। पशुमा अत्यधिक र्‍याल काड्ने, आक्रामक हुने वा पक्षघातका लक्षण देखिएमा तत्काल नजिकको पशु स्वास्थ्यकर्मी वा गाउँपालिकाको पशुपन्छी शाखामा जानकारी गराउन भनिएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *