राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामा एक वर्षमा ७ हजार कुखुराको पोष्टमार्टम

चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनले पछिल्लो एक वर्षमा सात हजार कुखुराको पोष्टमार्टम गरी विभिन्न रोगको पहिचान गरेको छ। चितवनसहित १६ जिल्लाका किसानबाट ल्याइएका कुखुराको पोष्टमार्टम तथा नमुना परीक्षणमार्फत प्रयोगशालाले पन्छीमा देखिएका रोगको अवस्था पहिचान गरेको हो।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टमसँगै प्रयोगशालाले विभिन्न विधिबाट कुखुराको नमुना परीक्षण गर्दै आएको छ। परीक्षणका क्रममा कुखुरामा १० प्रकारका रोग तथा संक्रमण देखिएको उनले जानकारी दिए।

प्रयोगशालामा परीक्षण गरिएका एक हजार पाँच सय नमुनामध्ये २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो र ९ प्रतिशतमा क्रोनिक रेस्पिरेटरी डिजिज (सीआरडी) देखिएको छ। यस्तै, ढुसीजन्य रोग ९ प्रतिशत, सिसिआरडी ४ प्रतिशत तथा साल्मोनेलोसिस ३.५ प्रतिशतमा देखिएको प्रयोगशालाले जनाएको छ।

द्रुत परीक्षणअन्तर्गत २७८ नमुना परीक्षण गर्दा ४७ वटामा एभियन इन्फ्लुएन्जा संक्रमण पुष्टि भएको छ। त्यस्तै, १७६ वटा नमुनामा गम्बारो परीक्षण गर्दा १०९ वटामा संक्रमण देखिएको छ।

रानीखेत रोगका ९९ नमुना परीक्षण गर्दा ७ वटामा तथा आइबीका ४६ नमुना परीक्षण गर्दा २ वटामा संक्रमण देखिएको डा. श्रेष्ठले बताए।

त्यसैगरी, पीसीआर विधिबाट ३६९ नमुना परीक्षण गर्दा १२ वटामा साल्मोनेला संक्रमण देखिएको छ। ३६० नमुनामध्ये १६ वटामा माइकोप्लाज्मा संक्रमण पहिचान भएको छ। एलाइजा विधिबाट परीक्षण गरिएका १८४ नमुनामध्ये ३८ वटामा माइकोप्लाज्मा र अर्को १८४ नमुनामध्ये ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सीआईएभी) संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाले नौ सय कुखुराको नमुनामा कल्चर परीक्षण गर्दा ७८९ नमुनामा संक्रमण देखिएको जनाएको छ। संक्रमण पहिचान भएका नमुनाका आधारमा सम्बन्धित किसान तथा सेवाग्राहीलाई आवश्यक उपचार र कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्ने विषयमा सुझावसमेत दिइएको डा. श्रेष्ठले बताए।

उनका अनुसार कुखुरामा रोगको संक्रमण नियन्त्रण गर्न उपचारसँगै जैविक सुरक्षा (बायोसिक्युरिटी) अनिवार्य रूपमा प्रभावकारी बनाउनुपर्ने हुन्छ। फार्ममा जैविक सुरक्षा मापदण्ड पालना नगर्दा रोग भित्रिने र फैलिने जोखिम उच्च हुने भएकाले किसानले सरसफाइ, बाह्य व्यक्तिको प्रवेश नियन्त्रण, उपकरणको निर्मलीकरण तथा रोगी कुखुराको उचित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *