बागलुङमा ‘डग होस्टेल’: सडकका बेवारिसे कुकुरलाई आश्रय, उपचार र खोप

बागलुङ — घरपालुवा कुकुर छाड्ने, अनियन्त्रित प्रजनन हुने तथा रोगी र अशक्त कुकुरको व्यवस्थापन नहुँदा बजार क्षेत्रमा बढ्दै गएको बेवारिसे कुकुरको समस्या समाधान गर्न बागलुङ नगरपालिकाले ‘डग होस्टेल’ सञ्चालनमा ल्याएको छ।

बागलुङ नगरपालिका–३ सिम्लेमा गत असारदेखि सञ्चालनमा आएको होस्टेलमा अहिले बजारका सडक, चोक र गल्लीबाट उद्धार गरिएका ३० वटा कुकुर राखिएका छन्। सडकमा छाडिएका कुकुरबाट मानिस तथा अन्य जनावरमा हुनसक्ने जोखिम र रेबिजलगायतका रोग नियन्त्रण गर्ने उद्देश्यले नगरपालिकाले यो संरचना सञ्चालन गरेको हो।

नगर प्रहरीको सहयोगमा नगरपालिकाको पशु विकास शाखाले सडकमा रहेका कुकुरलाई नियन्त्रणमा लिएर रेबिजविरुद्धको खोप लगाउने तथा आवश्यकताअनुसार होस्टेलमा ल्याउने गरेको छ। रोगी तथा अशक्त कुकुरको उद्धार गरी होस्टेलमै उपचारको व्यवस्था पनि गरिएको छ।

५० वटासम्म कुकुर राख्न सकिने क्षमता रहेको होस्टेलको रेखदेखका लागि नगरपालिकाले एक जना कर्मचारी खटाएको छ। कुकुरलाई बिहान मासु–भात र साँझ दूध–भात खुवाउने गरिएको छ।

पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको डग होस्टेलमा गण्डकी प्रदेश सरकारको ६५ लाख र बागलुङ नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ।

कुकुर व्यवस्थापनसँगै नगरपालिकाले घरमा पालिएका कुकुरलाई समेत रेबिजविरुद्धको खोप र आवश्यक औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। घरपालुवा कुकुर अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। दर्ताका लागि दुई सय रुपैयाँ शुल्क तोकिएको छ।

दर्ता भएका कुकुरलाई खोप तथा औषधि निःशुल्क उपलब्ध गराउनुका साथै कुकुरको मृत्यु भएमा शव व्यवस्थापनसमेत नगरपालिकाले गर्ने गरेको छ।

बागलुङको यो पहलले बेवारिसे कुकुर नियन्त्रणसँगै पशु कल्याण, रेबिज नियन्त्रण र सार्वजनिक स्वास्थ्य संरक्षणलाई एकसाथ अघि बढाउने स्थानीय प्रयासको उदाहरण प्रस्तुत गरेको छ।

तस्बिर: डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *