पोल्ट्री क्षेत्रको हितमा नीतिगत पहल गर्न लामिछाने सकारात्मक

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले पोल्ट्री क्षेत्रका समसामयिक समस्या तथा व्यवसाय प्रवर्द्धनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेसँग छलफल गरेको छ।

संघको प्रतिनिधिमण्डलले साउन २९ गते लामिछानेसँग भेट गरी पोल्ट्री क्षेत्रको वर्तमान अवस्था, मुलुकको अर्थतन्त्रमा पुर्‍याउँदै आएको योगदान तथा व्यवसायले हासिल गरेको आत्मनिर्भरता र रोजगारी सिर्जनाबारे जानकारी गराउँदै क्षेत्रका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।

संघले पोल्ट्री व्यवसायमा प्रयोग हुने प्रमुख कच्चापदार्थ आयातमा लाग्दै आएको कृषि सुधार शुल्क तथा भन्सार, विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) तथा खुला सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयातलाई व्यवसायका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको थियो।

विशेषगरी अवैध रूपमा आयात हुने अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी कुखुराको मासुले स्वदेशी व्यवसायलाई प्रत्यक्ष असर पारिरहेको भन्दै संघले यसको नियन्त्रणका लागि प्रभावकारी पहल गर्न आग्रह गरेको थियो।

संघले पोल्ट्री व्यवसायलाई बैंकको ब्याज तथा विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन आवश्यक नीतिगत पहलका लागि समेत लामिछानेसँग अनुरोध गरेको छ। साथै पोल्ट्री क्षेत्रबाट प्राङ्गारिक मल उत्पादनको ठूलो सम्भावना रहेकाले त्यसलाई प्रवर्द्धन गर्न आवश्यक नीति तथा कार्यक्रम बनाउनुपर्ने विषयमा पनि जानकारी गराइएको थियो।

संघले पोल्ट्री व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन राज्यबाट आवश्यक सहजीकरण र नीतिगत समर्थन हुनुपर्नेमा जोड दिएको थियो।

भेटमा संघले उठाएका विषयप्रति लामिछाने सकारात्मक देखिएको संघले जनाएको छ। पोल्ट्री क्षेत्रका समस्या समाधान तथा व्यवसायको प्रवर्द्धनका लागि आवश्यक पहल र सहजीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ।

यो भेटघाट कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग संघले साउन २८ गते गरेको भेटको भोलिपल्ट भएको हो। मन्त्रीसँगको भेटमा पनि संघले कच्चापदार्थ आयातमा लाग्ने शुल्क, विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर तथा खुला सीमाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणको विषय उठाएको थियो। मन्त्री चौधरीले मूल्य अभिवृद्धि कर हटाउने विषयमा पहल गर्ने तथा अवैध आयात नियन्त्रणका लागि तत्काल कदम चाल्ने आश्वासन दिएको संघले जनाएको थियो।

संघका अनुसार राज्यका विभिन्न तहमा पोल्ट्री क्षेत्रका समस्या र सम्भावनाबारे छलफल गर्दै समाधानका लागि नीतिगत पहल अघि बढाउने उद्देश्यले भेटघाटलाई निरन्तरता दिइएको हो।

लामिछानेसँगको भेटघाटमा प्रतिनिधि सभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्ष ज्योतेन्द्र श्रेष्ठ, अमोद खनाल, महासचिव भेषराज अर्याल र सल्लाहकार सुनिलकुमार शाक्यलगायत सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *