कृषि मन्त्रालयको पुनर्संरचना, वन र वातावरण अब एउटै नेतृत्वमा

काठमाडौं । सरकारले मन्त्रालयहरूको पुनर्संरचना गर्दै कृषि, वन तथा वातावरण क्षेत्रलाई एउटै मन्त्रालयअन्तर्गत ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘कृषि, वन तथा पर्यावरण मन्त्रालय’ गठन गर्ने निर्णय गरेको हो। सरकारको नयाँ संरचनामा कृषि क्षेत्रलाई प्राकृतिक स्रोत, वातावरण संरक्षण र वन व्यवस्थापनसँग जोडेर एकीकृत रूपमा अघि बढाउने संकेत देखिएको छ।

यसअघि छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसम्बन्धी कार्य अब एउटै मन्त्रालयमार्फत सञ्चालन हुने भएको छ। कृषि उत्पादन, खाद्य प्रणाली, वन संरक्षण र वातावरणीय व्यवस्थापनलाई एकीकृत नीतिमार्फत सञ्चालन गर्ने उद्देश्यले मन्त्रालय पुनर्गठन गरिएको सरकारी स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य क्षेत्रलाई पनि पुनर्संरचना गर्दै ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ बनाइएको छ। यसले खाद्य गुणस्तर, पोषण तथा जनस्वास्थ्यसँग सम्बन्धित विषयलाई एउटै संरचनाभित्र समेट्ने अपेक्षा गरिएको छ।

सरकारले विज्ञान र प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ समेत नयाँ रूपमा गठन गरेको छ। यस्तै शिक्षा मन्त्रालयलाई खेलकुदसँग, युवा मन्त्रालयलाई श्रम तथा रोजगारसँग, तथा महिला मन्त्रालयलाई सामाजिक सुरक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी विषयसँग जोडेर पुनर्गठन गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, रक्षा, कानुन, उद्योग, संस्कृति तथा पर्यटन, र ऊर्जा मन्त्रालय भने यथावत राखिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको सूचना प्रविधिसम्बन्धी कार्य भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *