गुणस्तर मापनलाई अब अभियानकै रुपमा अघि बढाइन्छ : मन्त्री अर्याल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरीक्षण गरेकी छन् । अनुगमनका लागि बुधबार बिहान विभाग पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछि मन्त्रालयअन्तर्गतका निकायको ब्रिफिङ लिन शुरु गरेकी छन् । त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन् । खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अघि बढाइने मन्त्री अर्यालको भनाइ थियो ।
‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुँदैन,’ उनले भनिन्, ‘अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अघि बढाउनुपर्छ । तपाईंहरु योजनासहित अघि बढ्नुस् । यसलाई अभियानकै रुपमा हामीले अघि बढाउनुपर्छ ।’
मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्र थप्नुपर्ने आवश्यकता भए त्योसहितका योजना बनाउनसमेत कर्मचारीलाई निर्देशन दिए । नीति, नियम, ऐन निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफलअघि बढाउन उनले आग्रह गरे । प्रबद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिनसमेत मन्त्री अर्यालले आग्रह गरिन् ।
उनले आजसम्म भएका कार्यहरुको प्रसंसा गर्दै यसलाई अझ बढाउन आवश्यक रहेको बताइन् । ‘उपलब्ध स्रोतसाधनले जति कार्य गर्नुभएको छ त्यो राम्रो गर्नुभएको छ,’ उनले भनिन्, ‘अब यतिले मात्र हाम्रो आवश्यकता पुरा हुँदैन, यसलाई बढाउनुपर्छ । आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढंगले तपाईंहरु अघि बढ्नुस् ।’
अभिभावकत्व ग्रहण गर्ने सन्दर्भमा मन्त्री र सचिवहरुको साथ सधैं रहने भन्दै उनले राम्रो काम गर्न कसैसँग नडराइकन काम गर्नसमेत निर्देशन दिइन् । उनले नराम्रो काम गर्नका लागि मात्र डराउनुपर्ने समेत बताइन् । ‘राम्रो काम गर्न डराउनु पर्दैन,’ उनले भनिन्, ‘डराउने भनेको नराम्रो काम गर्नका लागि हो । थप ऊर्जा, जोश जाँगरका साथ यो गतिलाई अगाडी बढाउनुस् ।’
भन्सार क्षेत्रमा प्रभावकारिता बढाउने गरी काम गर्नुपर्ने भन्दै उनले ‘आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ पुग्नेगरी अभियानमुखी कार्यक्रम अघि बढाउनुपर्ने बताइन् ।
त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्की, पशुपंक्षी सचिव डा. पेमनारायण कँडेलले खाद्य स्वच्छता कायय गर्न सबैले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने बताए ।