किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता वितरण

सिन्धुपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता वितरण गरेका छन् । कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई ‘भैँसी सुत्केरी भत्ता’ वितरण गरिएको हो ।

पनौती नगरपालिका–१२ का किसानलाई भैंँसीको पाडी वितरण गरिएको छ । गत वर्ष भैँसीलाई सुत्केरी भत्ता दिएको नगरपालिकाले यस वर्ष लक्षित किसान कार्यक्रमअन्तर्गत पनौती–१२ भूमेडाँडाका अति विपन्न २८ किसान परिवारलाई पाडी वितरण गरेको नगरपालिका कृषि तथा पशुपक्षी शाखाले जनाएको छ ।

वडाको सिफारिसका आधारमा नगरपालिका पशुपक्षी शाखाले सो वितरण गरेको हो । नगरपालिकाबाट पाडी प्राप्त गर्ने किसानका लागि दुई लाख रूपैयाँ बराबरको दुर्घटना बीमा र पाडीको बीमा गरिएको छ ।

त्यसरी पाडी पाएका किसानलाई प्राविधिक जानकारीसहित एक दिने अभिमुखिकरण तालीम दिने जनाइएको छ । आर्थिक समृद्धि तथा किसानको जीवनयापनमा टेवा पुर्याउन सजिलो माध्यम भैँसीको पाडी भएकाले यस वर्ष उपहारस्वरुप पाडी वितरण गरेको नगर प्रमुख भीम न्यौपानेले बताए ।

नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ लाई भैँसी प्रवद्र्धन कार्यक्रम आधार वर्षका रुपमा लिएको छ । शाखाले गरेको अध्ययनका क्रममा लैनो भैँसी खरीदका लागि नगरपालिकाभित्रका किसानले वर्षेनी र तीन करोडर रूपैयाँभन्दा बढी रकम बाहिर पठाउने गरेको पाइएपछि यो कार्यक्रम शुरु गरिएको जनाएको छ ।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ‘किसानसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गर्न थालिएको छ ।

वडा नं ६ र ८ मा भैँसी सुत्केरी भत्ता वितरण गरिएको छ । सो क्रममा वडा नं ६ का ८० किसानलाई भत्ता वितरण गरिएको छ । सुत्केरी भएपछि प्रत्येक भैँसीले एक हजार ५०० रूपैयाँका दरले भत्ता पाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।

त्यस्तै वडा नं ८ का ३४ भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिएको वडाध्यक्ष धनबहादुर तामाङले बताए । यसअघि वडा नं ५ का १८० किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

त्यससँगै गाउँपालिकाले भैँसीपालक किसान घुम्ती कोषसमेत स्थापना गरिएको हो । वडा नं ८ का किसानका लागि भैँसी किन्न सहयोग पु¥याउने उद्देश्यले भैसीपालक किसान घुम्ती कोष स्थापना गरेको हो ।

वडाध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७४÷७५ मै वडाले रु पाँच लाखको उक्त कोष खडा गरेको र उक्त कोषमार्फत सो वडाका भैँसीपालक किसानले छदेखि आठ महिनाका लागि भैँसी खरिद गर्न आधा रकमबिना ब्याज ऋण पाउने भएका छन् ।

त्यसरी खरिद गर्ने किसानलाई कोषबाटै भैँसीको रु एक लाख बराबर निःशुल्क बीमाको समेत व्यवस्था गरिएको छ । वडा कार्यालयका अनुसार १३ भैँसीपालक किसान घुम्ती कोषबाट लाभान्वित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *