संघले पठाएकाे सचिव सम्झना कुमारी काफ्लेलाई प्रदेश–२ मा राेक
काठमाडौं । संघीय सरकारले प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरी पठाएको प्रदेश सचिव सम्झनाकुमारी काफ्लेलाई कार्यकक्ष प्रवेशमा अवरोध गरिएको छ । बुधबार कार्यालय प्रवेशका लागि पुगेपछि त्यहाँ ताल्चा लागेकोले आफूले कार्यालय प्रवेश गर्न नपाएको उनले बताइन् ।
कार्यालयमा आफ्नो स्वागत तथा परिचयात्मक कार्यक्रम भए पनि आफ्नो कार्यकक्ष प्रवेश गर्न भने नपाएको भेट टाइम्ससँग उनले गुनासो गरिन् । ‘कार्यकक्षमा जाँदा ताल्चा लागेको थियो,’ उनले भनिन्, ‘त्यसपछि प्रदेशका मुख्य सचिवलाई जानकारी गराएर म फर्किएकी हुँ ।’
‘संघीय सरकार र प्रदेश सरकारका मन्त्रिज्यु बीच कुरा मिलेर कार्यालयमा मलाई बोलाएपछि मात्र जान सक्ने अवस्था बन्छ,’ उनले भनिन् । बिहीबार संघीय सरकारका कृषि विकास मन्त्री घनश्याम भूसाल सामेल हुन लागेको कार्यक्रममा आफू जान लागेको बताउँदै उनले समस्या समाधान हुने आशा समेत व्यक्त गरिन् ।
खासगरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले छिटोछिटो कर्मचारी सरुवा गर्दा काम गर्न गाह्रो भएको बताउँदै आएका थिए । उनको यस्तो अभिव्यक्तिपछि प्रदेश सरकारले संघले पठाएको सचिवलाई नै कार्यालयमा हाजिर गर्नबाट रोकेको हो ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले आफू निकटको कर्मचारीलाई निमित्त सचिवको जिम्मेवारी दिन नपाएको झोकमा सचिव काफ्लेलाई कार्यालय प्रवेशमा रोक लगाएको पनि स्रोतले बताएको छ ।