सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत

काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। बुधबारको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्तावमाथिको छलफलमा सांसदहरूले सङ्क्रामक पशु रोगको पूर्वरोकथाम, पशुपालक किसानको हित तथा पशु, मानव र वातावरणीय स्वास्थ्यलाई प्राथमिकतामा राखेर कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन्।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले ग्रामीण अर्थतन्त्रको मुख्य आधार कृषि र पशुधन भएकाले रोग फैलिएपछि नियन्त्रण गर्नुभन्दा त्यसअघि नै रोकथामका उपाय अपनाउनुपर्नेमा जोड दिए।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले विधेयकले पशुपालक किसानले भोग्दै आएका व्यावहारिक समस्या समाधान र रोगबाट हुने क्षति न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँले पशु स्वास्थ्यलाई मानव स्वास्थ्य र वातावरणीय स्वच्छतासँग जोडेर हेर्नुपर्ने धारणा राखिन्। उनले सङ्क्रामक रोग नियन्त्रणमा पशु, मानव र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई ध्यान दिनुपर्ने बताइन्।

विधेयकमाथिको छलफलमा सांसदहरू शोभा खनाल, गङ्गालक्ष्मी अवाल, माधवबहादुर थापा, मोहनलाल आचार्य, समीक्षा बास्कोटा, पुष्पाकुमारी चौधरी, गणेशबहादुर विश्वकर्मा, डा. ओजस्वी शेरचन, तारा विश्वकर्मा, गङ्गादेवी श्रेष्ठ, पार्वती विक, नीनुकुमारी कर्ण, भरतप्रसाद पराजुली, हरिमोहन भण्डारी, राजन गौतम र हरिप्रसाद भुसालले पनि सङ्क्रामक पशु रोग नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखेका थिए। 

राष्ट्रिय सभाले यसअघि ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरी प्रतिनिधि सभामा पठाएको थियो। विधेयकमा सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षण गर्ने उद्देश्य राखिएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *