‘राइट टु प्रोटिन रन’विनोद र निशा च्याम्पियन
पोखरा । ‘स्वस्थ नेपालका लागि दौड’ भन्ने मूल नाराका साथ पोखरामा आयोजित पाँचौँ संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथनतर्फ पुरुषमा विनोद रोकाया र महिलामा निशा सार्की च्याम्पियन बनेका छन्।
नेपाल दाना उद्योग संघ (एनएफआईए) को आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको २१ किलोमिटर खुला पुरुष हाफ म्याराथनमा विनोदले १ घण्टा ७ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि चुमेका हुन्। उक्त विधामा १ घण्टा ८ मिनेट ५ सेकेन्डको समयसहित सुशील कुमार शाही दोस्रो तथा १ घण्टा ८ मिनेट १४ सेकेन्डमा दूरी तय गर्दै तेस्रो स्थान हासिल गरे। यस्तै, नरेन्द्रसिंह रावल (१:०८:५०) चौथो र सञ्जय श्रेष्ठ (१:०९:०९) पाँचौँ स्थानमा रहे।
महिलातर्फको हाफ म्याराथनमा निशा सार्कीले १ घण्टा २१ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हात पारिन्। निर्मला केसीले १ घण्टा २४ मिनेटको समय निकाल्दै दोस्रो स्थान हासिल गर्दा १ घण्टा २७ मिनेट ५० सेकेन्डमा दौड सकाएर आश्मा विके तेस्रो भइन्। यसैगरी रायालक्ष्मी रावल चौथो र दिपा बस्नेत पाँचौँ भए।
यसैगरी, १० किलोमिटर खुला पुरुषतर्फ रुपेश कार्की प्रथम भए। उनले ३१ मिनेट ३४.६० सेकेन्डमा दूरी पार गरे। उमेश थापा (३२:०६.०८) दोस्रो र धिरज लिम्बू (३२:२८.४२) तेस्रो स्थानमा रहे।
५ किलोमिटर खुला महिला विधामा सरस्वती भट्टराईले २० मिनेट ३५.१२ सेकेन्डमा दौड पूरा गर्दै शीर्ष स्थान हासिल गरिन्। २५ मिनेट ३०.०१ सेकेन्डको समयसहित सपना परियार दोस्रो र २६ मिनेट ३३.११ सेकेन्डसहित जानकी राना तेस्रो बनिन्।
विजेतालाई १२ लाख ८० हजार नगद पुरस्कार
हाफ म्याराथनका पुरुष तथा महिला दुवैतर्फका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। यस्तै, दोस्रो हुनेले १ लाख, तेस्रोले ५० हजार, चौथोले ३० हजार र पाँचौँ स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ पाए।
आयोजकका अनुसार प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट पाँच धावकहरूलाई गरी कुल १२ लाख ८० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ।
१० देशका ४ हजारभन्दा बढी सहभागी
पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई पामे, लौकस हुँदै पुनः बसुन्धरा पार्कमै पुगेर टुङ्गिएको उक्त दौडमा वर्षाका बाबजुद धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा नेपालसहित विश्वका १० देशका गरी कुल ४ हजार १० ६ जना सहभागी भएका थिए।
सन् २०१९ देखि निरन्तर आयोजना हुँदै आएको यस अभियानमार्फत अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनीर तथा दाल र गेडागुडीजस्ता प्रोटिनका दैनिक स्रोतहरूबारे जनचेतना अभिवृद्धि गर्ने र खेलकुद पर्यटनलाई प्रवर्धन गर्ने लक्ष्य राखिएको छ।
