दाङका ह्याचरी व्यवसायीद्वारा ५ सदस्यीय समन्वय समिति गठन
दाङ। नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर बिसुरालको प्रमुख आतिथ्यतामा मंगलबार दाङका ह्याचरी व्यवसायीहरूको भेला सम्पन्न भएको छ।
दाङ जिल्लाका १३ वटा ह्याचरी व्यवसायीहरूको सहभागिता रहेको उक्त भेलाले सङ्घका गतिविधिलाई जिल्लास्तरमा प्रभावकारी रूपमा सहजीकरण गर्ने उद्देश्यले शोभाराम वलीको संयोजकत्वमा पाँच सदस्यीय समन्वय समिति गठन गरेको छ।
समितिका सदस्यहरूमा ईश्वर श्रेष्ठ, अर्जुन पौडेल, विशाल अधिकारी र डिल्लीबहादुर डाँगी चयन भएका छन्।
भेलालाई सम्बोधन गर्दै नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष बिसुरालले मुलुकको वर्तमान पोल्ट्री क्षेत्रको अवस्था, ह्याचरी व्यवसायमा देखिएका चुनौती, व्यवसायीबीचको एकता तथा आपसी सहकार्यको आवश्यकताबारे प्रशिक्षणसहित मन्तव्य राखेका थिए। उनले व्यवसायको दिगो विकासका लागि सङ्गठन सुदृढ हुनुका साथै व्यवसायीहरूबीच समन्वय र साझा पहल आवश्यक रहेको बताए।
भेलाले जिल्लाभित्र रहेका सम्पूर्ण ह्याचरी व्यवसायीलाई सङ्गठित गर्दै व्यवसायिक एकता सुदृढ गर्ने तथा सङ्घका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ।
