बर्ड फ्लुको प्रकोप ११ जिल्लामा, रानीखेत र ई–कोलाईलगायत अन्य रोग पनि पुष्टि

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले देशका विभिन्न क्षेत्रमा फैलिएको घातक बर्ड फ्लु रोगको अवस्था र नियन्त्रणबारे पछिल्लो जानकारी सार्वजनिक गरेको छ ।

विभागका अनुसार पछिल्ला पाँच महिनादेखि विभिन्न भू–भागमा तीव्र रूपमा फैलिँदै आएको यो सङ्क्रामक रोग नियन्त्रणका लागि विशेष सक्रियता अपनाइएको छ । विभागले उपमहानिर्देशकको प्रत्यक्ष नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहबीच प्राविधिक तथा प्रशासनिक समन्वयमा नियन्त्रणका कार्यहरू सञ्चालन भइरहेको जनाएको छ ।

गत चैत ४ गते मोरङमा पहिलो पटक बर्ड फ्लु पुष्टि भएयता हालसम्म देशका ११ जिल्लाका ८२ स्थानमा संक्रमण देखिएको विभागले जनाएको छ ।

संक्रमण पुष्टि भएका जिल्लामा झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक रहेका छन् ।

पन्छीमा उच्च मृत्युदर देखिने यस रोगको प्रकोप फैलिँदै गएपछि प्रभावित क्षेत्रमा पशु स्वास्थ्य टोली तत्काल परिचालन गरी नियन्त्रणका उपायहरू अपनाइएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिएका छन् ।

विभागका अनुसार रोग नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८ सय २८ वटा पन्छी सुरक्षित रूपमा नष्ट गरिएको छ ।

त्यसैगरी ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा र १ लाख ९५ हजार ४ सय ८५ केजी दाना समेत नष्ट गरी उचित व्यवस्थापन गरिएको छ ।

संक्रमण थप फैलिन नदिन कोशी प्रदेशमा पन्छी ओसारपसारमा एक महिनासम्म पूर्ण प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्धपछि कोशी प्रदेशमा संक्रमण नियन्त्रणमा आएकाले हाल त्यसलाई क्रमशः खुकुलो बनाइएको छ ।

पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाकामा गस्ती बढाएका छन् । अवैध रूपमा भित्र्याइएका शङ्कास्पद पन्छीहरू नियन्त्रणमा लिई नष्ट गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पशु रोग अन्वेषण प्रयोगशाला र राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालालाई पूर्ण रूपमा परिचालन गरिएको विभागले जनाएको छ ।

प्रयोगशालामा बर्ड फ्लु पुष्टि भएपछि आकस्मिक रोग अन्वेषण टोलीले जोखिम मूल्याङ्कन गर्ने र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा द्रुत कार्यदल परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गर्ने गरिएको छ ।

विभागका अनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी तथा बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।

तर काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुर र छिमेकी जिल्ला काभ्रेपलाञ्चोकका केही स्थानमा पालिएका पन्छीहरूमा भने रोगको संक्रमण अझै बढ्दो क्रममा देखिएको छ ।

नेपालमा देखिएको बर्ड फ्लु भाइरसको आनुवंशिक संरचना परिवर्तन भएको वा नभएको वैज्ञानिक रूपमा यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा सिक्वेन्सिङ कार्य सुरु गरिएको छ ।

विभागले पन्छीपालक कृषक, व्यवसायी तथा सरोकारवालालाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

फार्म परिसरमा पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न, ढुवानी साधन फार्मभित्र प्रवेश गराउनुअघि अनिवार्य रूपमा निसंक्रमण गर्न र काग तथा जङ्गली चराचुरुङ्गीबाट घरपालुवा पन्छीलाई जोगाउन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

त्यसैगरी पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएर मात्र ढुवानी गर्न अनुरोध गरिएको छ ।

प्रयोगशाला परीक्षणमा बर्ड फ्लु बाहेक न्यून प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानीखेत र ई–कोलाई जस्ता रोगका कारण पनि पन्छीमा उच्च मृत्युदर देखिएको पुष्टि भएको छ ।

यस्ता बहुविध संक्रमणबाट बच्न किसानहरूलाई नियमित रूपमा खोप लगाउन तथा मरेका पन्छीलाई फार्म परिसरमै गहिरो खाडल खनेर नष्ट गरी निसंक्रमण गर्न सुझाव दिइएको छ ।

विभागले कुनै पनि फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परे वा मरे तुरुन्त नजिकको सरकारी पशु सेवा निकायलाई जानकारी गराउन आग्रह गर्दै रोग नियन्त्रणमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *