युरोपको ‘क्वालिटी एचिभमेन्ट अवार्ड २०२६’ एमडीएच फर्मास्युटिकल्सलाई

काठमाडौँ ।भेटेरिनरी क्षेत्रका औषधि तथा फिड सप्लिमेन्ट उत्पादनमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय स्वदेशी कम्पनी एमडीएच फर्मास्युटिकल्स प्रालिले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘क्वालिटी एचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दीपकप्रसाद दाहालले यसबारे जानकारी दिएका हुन् ।

दाहालका अनुसार बेल्जियमको ब्रसेल्समा आयोजित अन्तर्राष्ट्रिय गुणस्तर सम्मेलन तथा पुरस्कार समारोहमा युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले कम्पनीलाई ‘गोल्ड क्याटेगरी’ अन्तर्गत उक्त सम्मान प्रदान गरेको हो। गुणस्तर व्यवस्थापन, अनुसन्धान तथा विकास, नवप्रवर्तन र ग्राहक सन्तुष्टिमा देखाएको उत्कृष्टताका आधारमा कम्पनीलाई सम्मानित गरिएको जनाइएको छ।

पशु स्वास्थ्य क्षेत्रमा स्थापित एमडीएच फर्मास्युटिकल्सले विगत २२ वर्षदेखि नेपालमा पशु औषधि तथा फिड सप्लिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले स्वदेशी पशु स्वास्थ्य उद्योगलाई बलियो बनाउँदै आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

ESQR द्वारा प्रदान ‘क्वालिटी एचिभमेन्ट अवार्ड’

कम्पनीले पछिल्लो समय नेपालमै पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ (डीपीआई) को व्यावसायिक उत्पादन सुरु गरेर मानव स्वास्थ्य क्षेत्रमा पनि प्रवेश गरेको छ। यद्यपि कम्पनीका अधिकांश उत्पादनहरू अझै पनि भेटेरिनरी क्षेत्रमै रहेका छन्।

कम्पनीका अध्यक्ष दीपकप्रसाद दाहालले अन्तर्राष्ट्रिय सम्मानलाई सम्पूर्ण नेपाली औषधि उद्योग, विशेषगरी स्वदेशी पशु स्वास्थ्य उद्योगको उपलब्धिका रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “यो सम्मान केवल एमडीएचको मात्र होइन, नेपालमा गुणस्तरीय औषधि उत्पादन सम्भव छ भन्ने सन्देश दिने उपलब्धि हो।”

एमडीएचले आगामी दिनमा मानव स्वास्थ्यसम्बन्धी औषधि उत्पादन विस्तार गर्ने योजना बनाएको भए पनि पशु स्वास्थ्य क्षेत्रका लागि नयाँ उत्पादन विकास, अनुसन्धान तथा गुणस्तर अभिवृद्धिमा लगानीलाई निरन्तरता दिने जनाएको छ।

स्विट्जरल्याण्डस्थित अन्तर्राष्ट्रिय संस्था युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च (ESQR) ले विश्वभरका उद्योग, व्यवसाय तथा संस्थाहरूलाई गुणस्तर व्यवस्थापन, नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा संस्थागत उत्कृष्टताका आधारमा सम्मान प्रदान गर्दै आएको छ। ESQR द्वारा प्रदान गरिने ‘क्वालिटी एचिभमेन्ट अवार्ड’ अन्तर्राष्ट्रिय स्तरमा गुणस्तर र उत्कृष्ट व्यवस्थापनको प्रतीकका रूपमा परिचित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *