हिकास्टका शिक्षकद्वारा विद्यार्थीलाई ‘सिंगल सिंगल भिड्ने’ धम्की, अध्यापन रोक्दै निष्कासनको तयारी(भिडियोसहित)

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कीर्तिपुरस्थित हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी (HICAST) का एक शिक्षकले विद्यार्थीलाई कक्षाकोठामै धम्की दिएको भिडियो सार्वजनिक भएको छ। देवा बोगटी नामको फेसबुक अकाउन्टबाट सार्वजनिक भएको उक्त भिडियोमा कलेजको भेटेरिनरी संकायका उपप्राध्यापक डा. सुनिल सापकोटाले विद्यार्थीहरूमाथि आक्रोश पोख्दै “सिंगल सिंगल भिड्ने” सम्मको चुनौती दिएको देखिन्छ। भिडियो भाइरल भएसँगै घटनाको चौतर्फी आलोचना र छानबिनको माग भएको छ।

फेसबुकमा प्रसारित ३८ सेकेन्डको भिडियोमा डा. सापकोटा अत्यन्तै आक्रोशित मुद्रामा विद्यार्थीहरूका सामुन्ने उभिएर आफ्नो पद र अनुभवको घमण्ड गर्दै धम्कीपूर्ण भाषामा प्रस्तुत भएको देखिन्छ। उनले आफ्नो नेपाल भेटेरिनरी काउन्सिलको दर्ता नम्बर उल्लेख गर्दै विद्यार्थीको भविष्य र दर्ता (लाइसेन्स) नै ओझेलमा पारिदिने आशयको अभिव्यक्ति दिएका छन्।

सार्वजनिक भिडियोमा शिक्षक डा. सापकोटाले भनेका छन्, “म १५ वर्ष भयो, १५ वर्ष भयो डाक्टर भएको। ६३२ नम्बर हो मेरो, काउन्सिलको नम्बर। तिम्रो भाइ, ३ हजारभन्दा पछाडि जान्छ, त्यो पनि भेट्दैनौ। त्यही हो टिचरसँग बोल्ने तरिका?”

संवादका क्रममा एक विद्यार्थीले आफ्नो गल्ती नभएको स्पष्टीकरण दिँदै अत्यन्तै निरीह रूपमा “सरी सर, मैले त केही भनैकै छैन” भनेको सुनिन्छ। तर, विद्यार्थीको उक्त अनुनयपछि शिक्षक झन् आक्रामक बन्दै शारीरिक रूपमै जाइलाग्ने शैलीमा प्रस्तुत हुन्छन्। शिक्षक सापकोटाले अगाडि थपेका छन्, “भिड्ने हो? सब जना बोलाएर लिएर आइज, जा! जहाँ भन्छौ, त्यहीँ आउँछु। सिंगल, ज्यान सानो छ भनेर हेपेको?”

फेसबुकमा भिडियो सार्वजनिक भएलगत्तै शैक्षिक संस्थाभित्र ज्ञान र अनुशासन सिकाउनुपर्ने जिम्मेवारीमा रहेका शिक्षकले विद्यार्थीको ज्यान र भविष्यलाई लिएर यसरी धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै तीव्र आक्रोश पैदा भएको छ। विद्यार्थीहरूले कलेज प्रशासनभित्रै आफूहरू असुरक्षित महसुस गरेको बताएका छन् भने अभिभावक तथा शिक्षाविद्हरूले यो व्यवहार शिक्षकको आचारसंहिता विपरीत र दण्डनीय भएको उल्लेख गरेका छन्।

विद्यार्थीको मनोबल गिराउने र मानसिक रूपमा त्रसित बनाउने यस्ता गतिविधिमाथि कलेज प्रशासन र विश्वविद्यालयले तत्काल निष्पक्ष छानबिन गरी हदैसम्मको कारबाही गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालाहरूले गरिरहेका छन्।

कलेज प्रशासनको तर्फबाट भेट टाइम्सको सम्पर्कमा आएका डा. कृष्णबहादुर श्रेष्ठले आरोपित शिक्षक सापकोटाको सबै कक्षा बन्द गरिदिएको बताए। उनले भने, “अहिलेलाई हामीले उहाँका सबै कक्षा बन्द गरेका छौँ र थप कारबाहीसहित निष्कासनको प्रक्रियाका लागि उहाँलाई ‘स्पष्टीकरण’ को स्वरूप ‘किन कारबाही नगर्ने?’ भन्नेमा छौँ। आन्तरिक छानबिन सुरु भएको छ।”

यस सम्बन्धमा भिडियोमा देखिएका आरोपित शिक्षक डा. सुनिल सापकोटाको आधिकारिक धारणा बुझ्न खोज्दा सम्पर्क हुन सकेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *