नक्कली भेटेरिनरी प्रमाणपत्र बनाएर माछा तस्करी

पाँचथर।नक्कली भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) बनाएर भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको माछा पाँचथरमा बरामद गरी नष्ट गरिएको छ । झापाको बिर्तामोडबाट ताप्लेजुङतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले पाँचथरको सदरमुकाम फिदिममा उक्त माछा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ आश्रित गुल्म फिदिमका अनुसार नियमित चेकजाँचका क्रममा ज ३१४२ नम्बरको यात्रुवाहक ईभी हायस गाडीमा ६ वटा बाकसमा राखिएको २५२ केजी माछा फेला परेको थियो । बरामद गरिएको माछाको बजार मूल्य करिब ७३ हजार ८० रुपैयाँ रहेको छ ।

ओसारपसारमा संलग्नहरूले पशु क्वारेन्टाइन र स्वास्थ्य जाँच छल्नका लागि क्यानडामा रहेका एक भेटेरिनरी डाक्टरको नाममा नक्कली प्रमाणपत्र बनाएको अनुसन्धानबाट खुलेको छ । कागजातमा क्यानडामा कार्यरत नेपाली पशु चिकित्सक डा. अभिषेक सिंहको नाम र नक्कली हस्ताक्षर प्रयोग गरी स्वास्थ्य प्रमाणपत्र तयार पारिएको फेला परेको हो ।

“हेल्थ सर्टिफिकेट क्यानडाको डाक्टरको नाममा जारी भएको जस्तो देखाइए पनि माछा भने भारतबाट आयात गरिएको पाइयो,” अनुसन्धानमा खटिएका एक अधिकारीले भने, “कागजात शंकास्पद देखिएपछि केरकार गर्दा हस्ताक्षर र छाप किर्ते गरिएको पुष्टि भएको हो ।”

प्रारम्भिक अनुसन्धानका अनुसार उक्त माछा बिर्तामोडका व्यवसायी सोनालाल शाहाले ताप्लेजुङका सकट सहनीका लागि पठाएका थिए । बरामद गरिएको माछालाई जिल्लास्थित पशु सेवा विज्ञ केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा नाकामा पशु क्वारेन्टाइनको फितलो चेकजाँचको फाइदा उठाउँदै नक्कली कागजातका आधारमा अखाद्य वस्तु भित्रिन सक्ने जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *